प्रदेश सरकारको समिक्षा

सम्पादकीय
यतिखेर प्रदेश सरकारको समिक्षा हुन थालेको छ । अधिकार बिहिन प्रदेश सरकार आफ्नै बलबुतामा चल्ने अवस्था छैन । धेरै कुराहरु संघ सरकारसंग बिबाद छ । संघ सरकारले प्रदेशलाई अधिकार दिन चाहेको देखिदैन । गणतन्त्र आएपछि प्रदेश सरकार त बने खर्च भने बढ्दै गएको छ । प्रशासनिक खर्च बढ्दै गएपनि विकास त्यो अनुपातमा भएन । प्रदेश सरकारले ठूला योजना बनाएर काम गरेको पाइदैन । प्रदेश सरकार बारे व्यापक गुनासो हुन थालेको छ । यस्तो अवस्थामा कलस्टरको बिषय पनि उठ्न थालेका छन् । कलस्टर पाएको भए पनि केही हुने रहेनछ भन्ने आवाज आउन थालेका छन् । कलस्टर पाएपछि जातीको उत्थान हुन्छ भन्ने सोच बलियो थियो । आफ्नो जातीका बारेमा आफ्ना जातीकै जनप्रतिनीधिले काम गर्छन् भन्ने सोच थियो तर जनप्रतिनीधिको व्यबहार हेरेपछि कलस्टरको कुरा मात्र रहेछ भन्नुपर्ने अवस्था छ । २०७२ सालमा देशभर कलस्टरको कुरा भए । कलस्टरका लागि द्वन्द भयो । अधिकार माग्नु स्वभाविकै हो । संबिधान निर्माण भएपछि प्रदेश निर्माण भए । कैलाली जिल्लामा केही पालिका थारु समुदायको कलस्टर छ । पालिकामा कलस्टरको माग गर्ने समूहको बर्चश्व छ । क्षेत्र नम्बर १ र ३ का ४ वटा पालिकामा थारु समुदायको नेतृत्व छ यस पटक । यो अवसर पनि हो । थारु समुदायका एजेण्डा स्थानीय तहले निर्धारण गरेर कार्यक्रम गरेको भए सबैले कलस्टरको महत्व बुझ्ने थिए । सुमदायसंग भोट माग्ने बेला अधिकारका कुरा गर्ने अनी निर्बाचित भएपछि योजना नल्याउने राजनीतिले कसैको हित गर्दैन । पुल,भवन,अन्य काम गर्नका लागि जो प्रतिनीधि भएपनि उही हो । विकास गर्नका लागि क्षमता भएको जनप्रतिनीधि आउनुपर्छ । कलस्टर चाहियो भन्ने समुदायले आफ्नो जनप्रतिनीधि बलियो बनाउने सवालमा काम गर्नुपर्ने हो । जनताले आफ्नो नेतृत्व बलियो बनाउने अनी नेतृत्वले पनि आफ्नो समुदायका बारेमा केही भएपनि काम गरेको भए कलस्टरको माग पुष्टि हुने थियो । चारवटा पालिका मिलेर जनजातीका सवालमा ठोस योजना बनाएर काम गर्न जरुरी छ । समुदायको पहिचानका बारेमा चारवटा पालिकाले ठोस काम गरेको पाइदैन । पटके सास्कृतिक कार्यक्रमका लागि बजेट दिएर संस्कृति बचाउन सकिदैन । पहिचानका लागि दाङको चखौरामा भएझै संग्राहलय बनाउने सयुक्त प्रयास भएको भए पनि राम्रो सन्देश जाने थियो । यसै गरी सिकलसेलका सवालमा होस् या अन्य बिषयमा चारवटा पालिका मिलेर काम गरेको भए हाम्रा जनप्रतिनीधिले हाम्रा लागि केही गरे भन्ने सोच हुने थियो । अवसर पाएको बेला केही नगर्ने अनी अघिपछि अधिकारका कुरा गर्नु भनेको जनतालाई ठग्नु हो । यतिखेर नागरिक उन्मुक्ति पार्टीमा आपसमा द्वन्द छ । अवसर पाएका बेला पार्टी र जनप्रतिनीधिबीच समन्वय छैन । अवसर पाएका बेला समन्वय गरेर जनताको मन जित्नुपर्छ । यो अवसर पछि नआउन सक्छ । यतिखेर नागरिक उन्मुक्तिसंग कैलाली क्षेत्र नम्बर १ का तीन पालिकामा प्रमुख , दुइ निर्बाचित प्रदेश सांसद र एक निर्बाचित संघिय सांसद छन् यो भन्दा राम्रो अवसर थारु समुदायका लागि कहिले जुट्ला ? सधै अवसर पाइदैन । यत्रो शक्ति भएकाबेला थारु समुदायका सवालमा के काम भयो भनेर नागरिकले प्रश्न गर्दा के जवाफ दिने ? सधै झुटको राजनीति हुँदैन । बर्तमान जनप्रतिनीधिले पाएको अवसर २०७२ को घटनाले हो । थारु समुदायको भावनालाई भजाउन सफल भएपछि नागरिक उन्मुक्ति पार्टीले सफलता पाएको कुरा बिर्सन हुँदैन । तर यतिखेर नागरिक उन्मुक्तिाका नेताहरु मिलेर अघि बढ्नुको सट्टा मनपरी हिड्न थालेका छन् । जनताले कलस्टर माग्नेहरुको व्यबहार हेरिरहेका छन् । जनता सचेत छन् ।