हामी आफ्नो भूमिकाबारे सचेत छौं : जनप्रतिनिधि महिला

सीता खनाल

टीकापुर, ७ असार/समाजले विशुद्ध गृहणीका रुपमा बुझेका र स्वयमले पनि आफु गृहणी हौँ भनेर बुझेका महिलाले अधिकारका बारेमा बुझ्न थालेका छन् । जनप्रतिनिधि भएर दलित महिला केन्द्र नेपालले विभिन्न तालिम दिएपछि पालिकामा व्यवस्था गरिएका विधायन, आर्थिक, राजश्व, वन वातावरण र शिक्षा समितिका काम, कर्तव्य र भूमिकाबारे बुझन थालेका छन् ।
विधायन, आर्थिक, राजश्व, वन वातावरण र शिक्षा जस्ता बिषयमा पालिकाले खेल्नुपर्ने भूमिकाका बारेमा प्रष्ट हुन थालेका छन् । यस्ता समितिमा गरिएको व्यवस्था र जनप्रतिनिधिले खेल्नुपर्ने भूमिका बुझेपछि पालिकामा हुने गलत कामकारबाहीको बारेमा आवाज उठाउने गरेका छन् ।
समितिको अधिकार र त्यसमा भएका व्यवस्थाले पार्ने सकारात्मक र नकारात्मक भूमिकाका बारेमा उनीहरु चनाखो हुन थालेका बताउँछन् । यसरी चनाखो भएर बिचार राख्दा कार्यपालिकाको बैठकमा कुरा सुन्नुपर्ने बाध्यता सृजना गर्न थालेका छन् । तालिम र अवसर नपाउँदा बिगतमा कुरा राख्न सक्ने क्षमता नभएको उनीहरुको भनाइ छ । ‘‘तालिम र अध्ययनपछि कार्यपालिका बैठकमा हामीलाई नजर अन्दाज गर्ने अवस्था छैन’’, कार्यपालिका सदस्य रुपमती डगौरा थारुले भन्नुभयो, ‘‘कुरा कम सुनिए पनि क्षमता विकास भएको छ । हामीले आफ्नो अधिकार र कर्तव्य बुझेका छौँ ।’’


रुपमती मात्र होइन अन्य कार्यपालिकाका अन्य महिला सदस्यहरुले समेत यस्तो महशुस गरेको बताउँछन् । कार्यपालिकाको बैठकमा मात्र होइन समुदायमा पनि अधिकार र कर्तव्यका बारेमा खरो बिचार राख्न थालेका छन् । ‘‘हामी हरेक अधिकारबारे सचेत भएका छौँ, महिलाका मुद्दा अझ राम्ररी बुझेका छौँ’’, कार्यपालिका सदस्य लवरी चौधरीले भन्नुभयो, ‘‘हामी लैगिंक हिंसा न्यूनिकरणका सवाल मा पालिका होस् या समुदायमा गम्भिर भएर काम गरिरहेका छौँ ।’’
महिला सदस्यहरुले पालिकामा भएको न्यायीक व्यवस्थालाई बुझेर सामाजिक बिबादलाई मेलमिलाप केन्द्रमा जान प्रोत्साहन गर्ने गरेका बताएका छन् । यसरी क्षमता विकास भएपछि देखिएको परिवर्तन लाई समाजले पनि स्विकार गर्न थालेको छ । त्यसैले त वडामा पालिकाले प्रदान गर्ने सेवा र व्यबस्थाका बारेमा कुरा बुझ्न समुदायका नागरिक घरमै आउने गरेको उनीहरु बताउँछन् ।
कार्यपालिका सदस्य सरस्वती तिरुवा जनप्रतिनिधि हुनुअघि मात्र गृहणीको भूमिकामा हुनुहुन्थ्यो र थाहा पनि त्यमिात्र थियो । ‘‘बच्चा हुर्काउने, घरधन्दामा ब्यस्त थिए’’, उहाँले भन्नुभयो, ‘‘वि.स.२०७९ मा स्थानीय तह निवार्चन भयो । निर्वाचत जितेपछि शुरुमा आफ्नो परिचय दिन समेत डराउने मलाई पालिका र दलित महिला केन्द्र नेपालले दिएका विभिन्न क्षमता विकास तालिमले सक्षम बनायो ।’’
‘‘बोल्न सिके, विषयगत समितिको भुमिकाबारे थाह पाए, म वन वातावरण तथा विपद व्यवस्थापन, राजश्व परामर्श समिति र शिक्षा समितिमा छु’’, उहाँले भन्नुभयो, ‘‘त्यहाँ मेरो भुमिकाबारे जानकार छु ।’’ कार्यपालिका सदस्य तिरुवा योजना छनोट का ७ चरणबारे समेत जानकारी पाएको र भूमिका निभाइ रहेको बताउनुहुन्छ । ‘‘नीति तथा बजेट ल्याउँदा लैंगिक समानता तथा अपांगता भएकाहरुको सामाजिक समावेशीकरणलाई प्राथमिकता दिन थालेका छौँ’’, उहाँले भन्नुभयो, ‘‘धेरै काम गर्न नसके पनि बुझाइमा परिवर्तन आएको छ । यो जीवनभरि काम लाग्छ ।’’
कार्यपालिका सदस्य रुपमति डगौरा थारु जनप्रतिनिधि भएको यो दोस्रो कार्यकाल हो । टीकापुर वडा नं. ४ मा वि।सं।२०७४ सालमा लोकतान्त्रिक फोरमबाट निर्वाचन जितेकी उहाँ अहिले नागरिक उन्मुक्तिबाट जन प्रतिनिधि हुने अवसर पाउनुभएको हो । अघिल्लो कार्यकालमा वडा सदस्यमात्र रहेकी रुपमती अहिले कार्यपालिका सदस्य भएर काम गरिरहनु भएको छ ।
रुपमतीलाई पनि शुरुमा काम गर्न गाह्रो भयो । विस्तारै सजिलो भो । दलित महिला केन्द्रले दलित महिलाका मात्र क्षमता विकास गरिरहेको देखेपछि आफूहरुलाई पनि समेट्न आग्रह गरेको उहाँ सम्झनु हुन्छ । ‘‘अघिल्लो कार्यकालमा खासै क्षमता विकास भएको थिएन’’, उहाँले भन्नुभयो, ‘‘यसपटक जनजाति महिलालाई पनि क्षमता विकास चाहिन्छ भनेपछि हामीलाई पनि संस्थाले तालिम दियो । आज हामी धेरै सक्षम भएका छौँ, पालिकामा हुने हरेक काममा निगरानी गछौँ ।’’
वडा सदस्य हुनुअघि रुपमती टेलर व्यवसायमा आबद्ध हुनुहुन्थ्यो । ‘‘९ वर्ष बजारमा पसल चलाए, त्यसपछि गाउँमै काम गर्थे, अहिले पनि घरमा गरिरहहेछु’’, उहाँ भन्नुहुन्छ, ‘‘राजनीतिका लागि रकम चाहिन्छ, त्यही भएर काम गरिरहेकी छु ।’’
अर्की कार्यपालिका सदस्य राजारानी चौधरी राजनिती भन्दा अघि घरधन्दा र जमरा कुलामा कार्यसमिति सदस्यका रुपमा कार्यरत हुनुहुन्थ्यो । कुलामा महिला फोकल पर्सनका रुपमा काम गरेकाले उहाँलाई लैंगिक सम्वेदनशीलताबारे अलि ज्ञान भने थियो ।
‘‘सामाजिक सक्रियता थियो, तर खासै क्षमता विकास भएका थिएन’’, उहाँ भन्नुहुन्छ, ‘‘दलित महिला केन्द्र नेपालले बोल्ने कलामा थप निखारता ल्यायो, नेतृत्व गर्न थप क्षमता विकास भएको छ । ’’
राजारानी हाल समाजका समस्या पहिचान गरि सम्बन्धित ठाउँमा आवाज उठाउन सक्ने भएको र पछि परेका वर्गका लागि काम गर्नुपर्छ भनी सिकेको र जिम्मेवार भएको बताउनुहुन्छ ।
वडा नं. ४ का वडाध्यक्ष लालविर चौधरी दलित, जनजाति जनप्रतिनिधि महिलाहरु सक्षम बन्दै गएको बताउनुहुन्छ । ‘‘निर्वाचित हुदै गर्दा नियम कानूनबारे जानकार थिएनन्, अहिले अध्ययन गर्ने, विषयबस्तुमा जानकारी राख्न थाल्नुभएको छ’’, उहाँले भन्नुभयो, ‘‘उहाँहरुको हरेक कार्यमा सहभागिता वृद्धि भएको छ । कार्यपालिका बैठक, कार्यक्रम,नगर सभा जस्ता कार्यमा सहभागी मात्र होइन छलफलमा पनि भाग लिनुहुन्छ, महिलाको सहभागिता र अधिकारबारे बोल्न थाल्नुभएको छ ।’’