गणतन्त्रमा राजनीतिक दल चुक्दै

सम्पादकीय

गणतन्त्र आएपछि राजनीतिक दलका नेताहरुसंग आम नागरिकले ठूलो आशा गरेका थिए । राजनीतिक दलका नेताहरुलाई भगवानका रुपमा मानेर जनताले जयजयकार गरे । दुःखका दिन सकिएको भन्दै नागरिकले गणतन्त्र ल्याउनमा भूमिका खेल्ने नेताहरुलाई जिताएर पठाए । मतदान गर्दा नेताहरुको बोलीलाई बिश्वास गरे । जनताको अपार बिश्वासलाई पछिल्लो समय नेताहरुले बिश्वासघात गरेको भन्दै आक्रोस पोख्न थालेका छन् । आक्रोसको कारण नेताहरु स्वच्छेचारी भएर देशको अर्थतन्त्र डामाडोल पारे भन्ने नै हो । मुलुक दिनप्रतिदिन बेथितिमा फस्दै गएका छ । मुलुकलाई निकास दिनुभन्दा पनि छोटो समयमा कसरी अकुत कमाउने या आफ्नालाई पोस्ने रणनीतिमै भुल्दा मुलुक बेथितिमा फस्दै गएको हो । भ्रष्टाचारका सवालमा सत्ता पक्षको मत एक हुनु स्वभाविकै होला तर प्रतिपक्ष पनि एक हुनु भनेको यो भन्दा दुर्भाग्य अरु के होला ? सत्ता पक्षले गरेको बद्मासि प्रतिपक्षले उठाउने हो तर संसदमा तेस्रो शक्तिको रुपमा रहेको माओवादी बेला बखत सत्ता पक्षसंग हिमचिम गर्न बाध्य । सत्ता पक्षसंग माओवादीले हिमचिम गर्ने हो भने प्रतिपक्षको भूमिका कसरी निभाउन सक्छ ? प्रतिपक्षको भूमिका प्रभाबकारी रुपमा निभाउन नसक्ने अनी जनता माझ गएर अब गल्ती गर्दैनौं भन्दै भाषण गर्ने । माओवादीका अध्यक्ष प्रचण्डको बोलीमा बिश्वास छैन । अहिले सामाजिक सञ्जालमा प्रचण्डको व्यापक बिरोध छ । मुलुक चरम बेथितिमा फस्दै गएको छ तर सत्तामा बस्दै आएका नेताहरु स्विकार्न तयार छैनन् । कसैले प्रश्न ग¥यो भने बिरोधीको बिल्ला भिराउने र राज्य संयन्त्र प्रयोग गर्ने संस्कारको विकास हुँदै गएको छ । जुन गणतन्त्रका लागि सबै भन्दा दुखद पक्ष हो । गणतन्त्रमा चित्त नबुझेको कुरा नागरिकले राख्छन् । सामाजिक सञ्जालमा पनि राख्छन् । हिजो यिनै जनताले फूलका मालाले स्वागत गरेको कुरा भुलेर आज उछितो काढ्दा नेताहरुलाई रिस उठ्नु स्वभाविकै हो । सम्मान पाएका नेताहरुलाई जनताले घृणा गर्न थालेको कुरा थाहा छ तर आफुलाई सुधार्न तयार छैनन् । अहिलेको अवस्था धेरै बिग्रेको छ । बिग्रेको अवस्था सुधार्न नेताहरुले धेरै मेहनत गर्नुपर्ने अवस्था छ तर नेताहरु सुधार्न चाहदैनन् या सकिदैन भनेर बसेका छन् । नागरिक आजित छन् । हरेक क्षेत्रमा देखिएको बेथिति र राज्य कोषको दोहनले नागरिक आक्रोसित छन् । नेताहरुले समयमै आफ्नो चरित्र सुधार्न जरुरी छ । नागरिकको बोली बन्द गरेर सत्तामा धेरै दिन बस्न सकिन्छ भन्ने सोचबाट नेताहरु मुक्त हुन जरुरी छ ।