सम्पादकीय
यस आर्थिक बर्षमा राष्ट्र बैङ्कमा बाणिज्य बैङ्कको ५ खर्ब बढी रकम जमा छ । सामान्यतया ढाई खर्ब पैसा जमा हुने गरेको थियो । अधिक तरलता हुँदा पनि बैङ्कले लगानी गर्न सकेका छैनन् । नागरिकले पैसा लिन नचाहेको प्रष्ट देखियो । बाणिज्य बैङ्कहरुले पछिल्लो समय अति न्यून व्याज दरमा पैसा राष्ट्र बैङ्कमा राख्न थालेका छन् । ५ खर्ब राष्ट्र बैङ्कमा जमा गर्ने तर नागरिकले पैसा चलाउन चासो नदिएको अवस्थालाई गम्भिर भएर समिक्षा गर्न जरुरी छ । देशको अर्थतन्त्र चलायमान बनाउने सवालमा सरकार चुक्दै गएको देखिन्छ । नागरिकको बचत सदुपयोग नभएको अवस्था पनि हो यो । नागरिकले बचत गरेको पैसा सरकारले बैङ्क मार्फत विकासमा र उत्पादनमा लगानी गर्न सक्नुपर्छ । नागरिकले उत्पादनमा ध्यान दिएनन् भने बाहिरी देशबाट आएको उत्पादनले देश बलियो हुने कुरै भएन । देशको उत्पादन बढाउनका लागि उद्योग र कृषि क्षेत्रलाई व्यबस्थित गर्न जरुरी छ । कृषि क्षेत्रको उत्पादन बढाउन कृषकलाई सुबिधा दिन जरुरी छ । कृषि क्षेत्रलाई व्यबस्थित गर्न सरकारले हाम्रो देशलाई आवश्यक पर्ने खाद्यान्न र अन्य कृषि जन्य उत्पादन तथा जडिबुटी प्रसोधन गर्ने उपकरणको व्यबस्था मिलाउन जरुरी छ । केवल अनुदानको कुरा हुन्छ , आवश्यक परेको बेला मल र बीउ राज्यले उपलव्ध गराउन सकेको अवस्था छैन । हरेक कृषि मन्त्री आउछन् समयमै मल र बीउ उपलव्ध गराउछु भन्छन् तर खेती गर्नेबेला मल र बीउ पाइदैन । मन्त्रीको चाहना भएर पनि काम हुँदैन भने प्रणालीमा कही न कही समस्या त छ । सरकारले भाषण गर्नुभन्दा पैसा सदुपयोग गर्ने वातावरण बनाउन जरुरी छ । नागरिकले बैङ्कबाट पैसा लिने वातावरण बनाउन नेताहरुले स्वार्थको काम गर्न बन्द गर्नुपर्छ ।