सय हेक्टरमा धानको बीउ उत्पादन गर्दै सहकारी, बीउमा आत्म निर्भर हुने प्रयास

टीकापुर,२२ असार/बीउमा आत्म निर्भर बन्न सरकारले गरेको प्रयासमा कैलालीका किसानले बल पु¥याउँदै आएका छन्  । भारतीय बीउमा निर्भरता कम गर्न कैलालीको मुनुवाका किसानले सफलता प्राप्त मात्र  गरेका छैनन् उनीहरुले आफ्नो उत्पादन सहज रुपमा बिक्री गर्ने अवसर जुराएका छन् । बीउ उत्पादन थालेपछि मुनुवाका किसानले बिक्रीका लागि व्यापारी को मुख ताक्नु परेको छैन ।           करिब २ दशक अघिबाट धानको बीउ उत्पादन शुरु गरेको कैलाली को जानकी गाउँपालिका ४ मुनुवा स्थित बिजवृद्धि कृषि सहकारीले यस वर्ष सय हेक्टरमा धानको बीउ खेती गरेको छ । सहकारी मा आबद्ध जानकी गाउँपालिकाका वडा नम्बर ४ र ७ का करिब सय बढी किसानले धानको बीउ खेती गरेका छन् ।
उत्पादनको दृष्टिकोणले उर्वर जमिन र सिँचाइको राम्रो प्रबन्ध भएका कारण किसान धान बीउ उत्पादनमा लागेका हुन् । गत वर्ष सहकारीले ३ हजार पाँच सय कुण्टल धानको बीउ उत्पादन गरेको थियो । यसैगरी गहुँ ३ हजार कुण्टल, तोरी ६० कुण्टल र मकैको बीउ  १२ कुण्टल किसान बाट खरिद गरिएको सहकारीले जनाएको छ । सामान्यता प्रति बिगाहा ३५ केजी धानको बीउ लाग्ने गरेको भएपनि बिजबृद्धिबाट लगेको बीउ ३० केजीले पुग्ने  गरेको सहकारीको भनाई छ । बीउमा सत्प्रतिशत उमार क्षमता भएको पाइन्छ ।
यसरी खरिद गर्दा सहकारीले किसानलाई बजार भाउभन्दा प्रतिकुण्टल रु। ३ सय बढी मूल्य दिने गरेको छ । सुरुमा ४५ जना किसानबाट शुरु गरिएको सहकारी ले पछिल्लो समय बीउ उत्पादन मा ठूलो योगदान दिदै आएको  छ । यहाँ उत्पादन भएको बीउ  कैलालीका बिभिन्न पालिकामा बिक्री हुने गरेको छ । यस बाहेक बर्दिया, बाँके,सुर्खेत,दाङ,कञ्चनपुर, दैलेख, सर्लाही, सप्तरी, सिराहा जिल्लाका किसानले लैजाने गरेका छन् ।
एक पटक बीउ लैजाने किसान ले अर्को पटक खोजी खोजी आउने गरेको सहकारीका पूर्ब अध्यक्ष कमल बहादुर कठरियाले बताउनु भयो । ‘‘शुरुवातको दिनमा बीउ उत्पादनमा धेरैलाई चासो थिएन, अहिले धेरै किसान बीउ उत्पादन मा लागेका छन्’’, कठरियाले भन्नुभयो, ‘‘हामीले बीउ उत्पादन गर्दा मेहनत ग¥यौँ, अहिले हाम्रो बीउको माग धेरै छ ।’’
रानी जमरा कुलरिया सिँचाइ आयोजना आएपछि कृषि कार्यक्रम मार्फत सहकारीलाई ठूलो सहयोग भएको भन्दै कठरियाले बीउ गे्रडिङ र भण्डारणको समस्या छैन भन्नुभयो । सहकारीले गत वर्ष सय हेक्टरमा धान बीउ खेती गरेको थियो भने एक सय १५ हेक्टरमा गहुँको बीउ उत्पादन गरेको थियो । १० हेक्टरमा तोरी को बीउ, २ हेक्टरमा मकै र करिब एक हेक्टरमा मसुरोको बीउ खेती गरिएको थियो ।
वि।सं। २०५७ सालबाट समूह मार्फत तरकारी खेती गर्दै आएको समूहलाई २०६२ सालमा  सहकारीमा विस्तार गरी बीउ उत्पादन थालेको हो ।
किसानको सक्रीयताले विभिन्न संघसंस्थाको सहयोगमा बीउ उत्पादनमा लागेको सहकारीलाई रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि तर्फले ठूलो साथ दियो । सहकारीका बिजय बडायकले स्थानीय जातका बीउ प्रयोग गर्दै आएका किसानलाई उत्पादन बढी लिन फाइदा होस् भनी सहकारी मार्फत बीउ उत्पादन थालेको बताउनुभयो ।
सहकारीका व्यवस्थापक गोविन्दराज रावत सहकारीसँग हाल ४०८ मेट्रिक टन भण्डारण क्षमताका गोदाम रहेका बताउनु भयो । सहकारीले धेरै बालीका बीउ उत्पादन गर्दै आएको र विभिन्न जिल्लामा पठाउने गरिए को पनि रावतले बताउनुभयो ।
सहकारीको सहयोगमा यहाँका किसानले धान, गहुँ, मकै, मसुरो, तोरी, मास लगायतका बालीको बिउ उत्पादन गर्ने गरेका छन् । सिँचाइ आयोजनाले भण्डारण भवन, विभिन्न मेशिन र ग्रेडिङ मेशिन उपलब्ध गराएपछि सहयोग भएको उहाँले बताउनुभयो ।
किसान लविता कठरियाले ३ विघा जमीनमा धान तथा गहुँको बीउ उत्पादन गर्दै आउनुभएको बताउनुभयो । विगतमा खेती गर्दा खासै उत्पादन नलिने किसानले सहकारीमै बीउ र मल पाउनुका साथै सहकारीले नै उत्पादन किनि दिने भएपछि खेती गर्न हौसला मिलेको उहाँको भनाइ थियो ।
विगतमा मुनुवाका किसान घरकै भकारीमा भण्डारण गरिएको बिउ प्रयोग गर्थे भने कतिपय किसान बीउका लागि अन्यत्र भौतारिन बाध्य थिए । गाउँमै ग्रेडिङ गरिएको गुर्णस्तरीय बीउ पाउन थालेपछि उनीहरुको सहकारी प्रति आकर्षण बढ्दै गएको  छ । उसो सहकारीले आफ्ना सदस्यलाई  बीउ लगायतका अन्य सहुलियत दिदै आएको छ ।
सहकारीको सदस्य बन्न बीउ उत्पादन गर्ने किसान हुनै पर्ने नियम छ । ४५ जना किसानले शुरु गरेको मुनुवा विजवृद्धि सहकारीमा हाल १०९ जना शेयर सदस्य रहेका छन् । सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइले कृषि उत्पादन वृद्धिका लागि किसान तथा  सहकारीलाई सघाइ रहेको छ । आयोजनाका प्रमुख भरत कँडेलले मुनुवा विजवृद्धि कृषि सहकारी संस्था बीउ उत्पादनमा अग्रणी संस्थाका रुपमा काम गरिरहेको र आयोजनाको यस्ता संस्थालाई सधैँ साथ रहने बताउनुभयो । ‘‘सहकारी ले बीउ उत्पादनमा खेलेको भूमिका सहनीय छ, बिजवृद्धिमा राम्रो काम गरेको  छ’’, उहाँले भन्नुभयो, ‘‘समय अनुसार किसानलाई अझै आधुनिकीकरण बनाउनमा हाम्रो प्रयास हुन्छ । हामीले सहकारी मार्फत किसानलाई लाभ होस् भनी सहकारीलाई आवश्यक प्रविधि, भण्डारणका लागि भवन निर्माणमा सघाएका छौंँ, यो सहयोग निरन्तर       हुन्छ ।’’
सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइको सहयोगमा टीकापुर र जानकीका दर्जनबढी सहकारीले बीउ उत्पादनको काम गरिरहेका छन् । किसानले उत्पादन गरेको बीउ सहकारी मार्फत बिक्री वितरण गर्ने   गरिएको छ । बीज बृद्धिले बीउ उत्पादनमा सफलता पाएपछि यस क्षेत्रका अन्य सहकारीले पनि बीउ उत्पादनमा चासो दिन थालेका छन् । ‘‘सरकारले अनुदान सही सदुपयोग गर्ने हो भने उत्पादन बढ्ने निश्चित हो ,’’ भुर्षा सिचाई कुलाका अध्यक्ष गोपाल गिरीले भन्नुभयो,‘‘ किसानको आवश्यक्ता पहिचान गरेर किसानकै लागि काम गर्ने हो भने सरकारले धानमा लिएको लक्ष्य हासिल सहजै गर्न     सक्छ ।’’ उहाँले गाउँमा भएका कुलाका कृषक समूहलाई बलियो बनाउने गरी कार्यक्रम ल्याउनुपर्छ भन्नुभयो । किसानलाई प्रोत्साहन गर्नेगरी संघ, प्रदेश र स्थानीय गरी तीनै तहले कार्यक्रम ल्याउनुपर्ने गिरीको माग छ । उहाँले अनुदान दुरुपयोग भएको व्यापक गुनासो छ भने समयमै मल नपाउने समस्या अझै पनि छ भन्नुभयो ।