टीकापुर, ३० असार/टीकापुर नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को सार्वजनिक सुनुवाई भएको छ । सार्वजनिक सुनुवाईमा नगरपालिकाका शाखा प्रमुखहरुले नगरपालिकाको चालु आर्थिक वर्षको वित्तिय तथा भौतिक प्रगतिका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा नगरपालिकाको चालु आर्थिक वर्षमा पूजिँगत खर्च ५७.८५ प्रतिसत र चालु खर्च ८६.०६ प्रतिसत मात्र भएको जानकारी गराइएको छ । यस वर्ष नगरपालिकाले ६ हजार ५० मिटर सडक कालोपत्रे, ११ हजार ४३० मिटर सडक ग्राभेल, २ हजार ७४२ मिटर सडक मर्मत, ४६९ मिटर नाली निर्माण, १२ ओटा कल्भर्ट निर्माण, ७७० मिटर सडक रेखांकन, १ हजार १४० ओटा घर बाटो प्रमाणित गरिएको जानकारी गराईएको छ ।
कार्यक्रममा सहभागिहरुले करका दायरा नभई दर बढाएको, शिक्षामा लगानी घटाएको, अनुत्पादक क्षेत्रमा लगानी बढी भएको, योजनाहरुको रकमान्तर गरेको, अनुगमन प्रभावकारी नभएको, सामुदायिक भवनहरु बनाउन नसकेको गुनासो गरेका थिए ।

सहभागिहरुले राखेको जिज्ञासाको जवाफ नगर प्रमुख रामलाल डंगौरा थारु, प्रमुख प्रशासकिय अधिकृत रविन्द्र प्रसाद चौधरी, वडा नम्बर ४ का वडाध्यक्ष लालविर र केहि शाखा प्रमुखहरुले दिनु भएको थियो ।
सहभागिहरुले करको दायरा बढाउन, कोटेशनलाई रोक्न, नगरपालिका भित्र हुने विकास निर्माण का कामको प्रभावकारी अनुगमन गर्न, शक्ति सन्तुलन गरेर काम गर्न सुझाव दिएका छन् ।
कार्यक्रममा उठेका जिज्ञासा तथा गुनोसोको जवाफ दिँदै नगर प्रमुख रामलाल डंगौरा थारुले सहभागिहरुले उठाएका प्रश्न तथा जिज्ञासाहरुको सम्बोधन गरिने र दिएका सुझावहरुलाई कार्यान्वयनमा लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा शाखा प्रमुखहरु लक्ष्मी ओड,नवराज जोशी,नरेश अवस्थि, बलबहादुर रावल, नन्द बहादुर केसीले शाखागत प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
सुदुरपश्चिम विश्वविद्यालयका सहप्राध्यापक नाथुराम चौधरी र नेपाल पत्रकार महासंघका सुदुरपश्चिम प्रदेशका निवर्तमान अध्यक्ष योगेश रावलले टीप्पणी गर्नुभएको थियो ।
सामुदायिक रेडियो टीकापुर एफएमले सहजीकरण गरेको कार्यक्रमको सञ्चालन एफएमका स्टेशन मेनेजर एकिन्द्र तिमिल्सिना ले गर्नु भएको थियो ।