लागु औषध नियन्त्रणमा कठोर हुन जरुरी

सम्पादकीय
लागु औषध नियन्त्रणमा राज्य कठोर नहुने हो भने भयावह अवस्था आउने निश्चित  छ । देशका बिभिन्न ठाउँमा लागु औषध पक्राउका समाचार पढ्ने हो भने ठूलो संख्यामा युवाहरु कुलतमा फसेका छन् भनेर सहजै भन्न सकिन्छ । केही युवाहरु कुलतमा फस्ने केही बिदेश पलायन हुने भएपछि नेपालमा उत्पादन कसरी बढ्छ ? आफ्नो देशको उत्पादनमा लाग्नुपर्ने युवाहरु कुलतमा फसेपछि राज्यलाई आर्थिक भार पर्छ भने शान्ति सुरक्षामा चुनौती थपिन्छ । शान्ति सुरक्षामा चुनौती थपिदै जाँदा नागरिकले प्रहरी संख्या कम भएको महशुस गर्न थालेका छन् । सानो बिबादमा पनि एक अर्काको ज्यान लिने गरिएको छ ,यसको एउटै कारण हो युवाहरु कुलतमा छन् । पढ्नेबेला युवाहरु लागु औषधको कुलतमा फसेपछि राज्य त्यसै कमजोर हुन्छ । यस्तो गम्भिर बिषयमा राज्य कठोर हुन जरुरी छ । कानूनका छिद्र खोज्दै लागु औषध प्रयोगकर्ता र बिक्रीगर्नेहरु छुट्ने गरेका छन् । प्रहरीले पक्राउ गरेपनि सजिलै छुट्ने चलनले दुव्र्यसनीहरुको मनोबल बढ्दै गएको छ । एक भएर अभियान नचलाउने हो भने भयाबह अवस्था हुने निश्चित छ । लागु औषधका घटना दिनप्रतिदिन छताछुल्ल हुँदा अवस्था भयाबह भएको कुरा चिया चौतारामा हुन्छ तर सामाजिक अगुवा देखि जनप्रतिनीधि मिलेर काम गरौं भन्ने भावनाको विकास भएको पाइदैन । लागु औषध नियन्त्रण गर्न राजनीतिक दल देखि सामाजिक संघसंस्था पनि गम्भिर हुन जरुरी छ । लागु औषध नियन्त्रमा यस क्षेत्रका पालिकाले योजना बनाएर काम गर्नुपर्छ । लागु औषधका बारेमा जनचेतना फैलाउन बजेट खर्च हुन्छ तर यसरी खर्च हुने बजेट केवल व्यानरमा सीमित गर्ने परम्परा छ । लागु औषध नियन्त्रण गर्न जनचेतनाका कार्यक्रम गर्नुपर्छ त्यसका लागि पालिका स्तरमा संघ संस्थालाई साथ लिएर ठोस योजना बनाउन तयार हुनुपर्छ । हरेक पालिकाले ठोस योजना बनाएर लागु औषध नियन्त्रका सवालमा काम गर्न जरुरी छ । लागु औषध नियन्त्रमा सबैको भुमिका हुनुपर्छ । अभिभावकले पनि आफ्ना बालबालिकालाई समयमै सचेत गराउन जरुरी छ ।