धनगढी, २९ साउन/ “आफ्नो देशको उत्पादन, आफ्नो सान—कृषि उन्नतीमा हाम्रो अभियान” भन्ने मूलनाराका साथ नेपाल किसान महासंघ सुदूरपश्चिम प्रदेश समितिको प्रथम महाधिवेशन बुधबार कैलालीको धनगढीमा नयाँ नेतृत्व चयन गर्दैै सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. रणबहादुर रावलले सुदूरपश्चिमको कृषि सम्भावनालाई आत्मनिर्भर अर्थतन्त्रको आधार बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयोे, “हिउँले ढाकिएका हिमालदेखि तराईका उर्वर खेतसम्मका वरदानलाई संगठन, नीति र प्रविधिको संयोजन मार्फत परिणाममा बदल्नुपर्छ । किसानको श्रमको उचित मूल्य बिना राष्ट्रको समृद्धि सम्भव छैन ।” उहाँले स्व। शहीद भीमदत्त पन्तको भनाइ “कि त जोत हलो, कि त छोड थलो, यदि होइन भने छैन भलो” उद्धृत गर्दै किसान आन्दोलनको ऐतिहासिक पृष्ठभूमि स्मरण गर्नुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नृपबहादुर वडले सुदूरपश्चिमलाई जैविक उत्पादनको अग्रणी प्रदेश बनाउन दीर्घकालीन रणनीति आवश्यक रहेको बताउनुभयो । अर्की केन्द्रीय सदस्य शुशिला मिश्र भट्टले महिला किसानलाई विशेष प्रशिक्षण, ऋण सुविधा र बजार पहुँच दिलाउने कार्यक्रम प्राथमिकतामा पर्नुपर्ने धारणा राख्नुभयो ।

विशिष्ट अतिथि तथा महासंघका केन्द्रीय अध्यक्ष गणेशचन्द्र तिमिल्सेनाले किसानका हक अधिकारको संरक्षण, बीउ–मल आपूर्ति सुधार, सहकारीमार्फत बजार व्यवस्थापन र कृषि यान्त्रीकरणलाई महासंघको प्रमुख एजेन्डा बनाइने बताउनु भयो । नेपाली कांग्रेस कैलाली जिल्ला सभापति तथा राष्ट्रिय सभा सदस्य नारायणदत्त भट्टले सबै तहको सरकारले सिंचाइ विस्तार, कृषि उद्यमशीलता प्रवद्र्धन र उत्पादन को मूल्य सुनिश्चित गर्न तत्काल पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्याक्रमका वक्ताहरुले सुदूरपश्चिममा हाल ३४,६३० हेक्टर क्षेत्रमा मात्र सिंचाइ पुगेको छ, पहाडी क्षेत्रमा आधाभन्दा बढी खेतीयोग्य जमिन बाँझो छ, र श्रमिक
पलायनका कारण गाउँका खेत खाली रहेका छन् । यद्यपि, प्रविधि र सुधारिएको खेती प्रणाली का कारण उत्पादनमा वार्षिक ०.९ प्रतिशत वृद्धि देखिएको छ, जसलाई अझै तीव्र बनाउन सकिने उल्लेख गरेका थिए ।
अधिवेशनले सुदूरपश्चिमलाई आत्मनिर्भर कृषि प्रदेश बनाउन नीतिगत, संगठनात्मक र व्यवहारिक अभियानलाई सुदृढ गर्ने संकल्प लिएको छ । अधिवेशनमा सुदूरपश्चिम प्रदेशका ९ ओटै जिल्ला प्रतिनिधिहरु को सहभागिता रहेको थियो ।