टीकापुर सेवा समितिको आयोजनामा गणेश उत्सव

टीकापुर, १२ भाद्र/टीकापुर सेवा समितिको आयोजनामा टीकापुर नगरपालिका वडा नं १ ब्लक नं बी सामुदायिक रेडियो टीकापुर अगाडि गणेशको मूर्ति स्थापना गरिएको छ । भदौ २१ गतेसम्म चल्ने उत्सवको टीकापुर नगरपालिकाका नगरप्रमुख रामलाल डगौंराले उद्घाटन गर्नुभयो ।
नगरप्रमुख थारुले उत्सव आयोजना गरेर समाजलाई धार्मिक सांस्कृतिक ज्ञान प्रदान गर्ने काम गरिरहेको बताउनुभयो । धर्मप्रति ज्ञानबोध नभए सम्म मानिस एक्लो हुने भएकाले समाज परिवर्तनका लागि धार्मिक ज्ञान हुन जरुरी रहेको बताउनु भयो ।
नगर प्रमुख थारुले टीकापुरको विकासका लागि धार्मिक र आध्यात्मिक ज्ञानबाट सकारात्मक सोच प्रदान गर्न सकिने बताउदै, कर्णाली नदीलाई विश्वसामु पवित्र नदी भनेर चिनाउन सकेमा धार्मिक पर्यटनको रुपमा विकास गर्न सकिने बताउनुभयो ।
वडा नम्बर १ का वडाध्यक्ष मोहन बिकले गणेश उत्सव कार्यक्रमले नगरवासीलाई आध्यात्मिक जागरण ल्याउने काम गरेको बताउनुभयो । उहाँले सनातन धर्म संस्कृतिलाई संस्कार संस्कृतिलाई व्यापकता दिन नसक्दा हाम्रो समाज संस्कार संस्कृति हराउँदै गएकोे बताउनु भयो ।
कार्यक्रममा टीकापुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी ओडले अनेकतामा एकता धार्मिक विविधता भएको देशमा उत्सवले ऐतिहासिक महत्व बोकेको बताउनुभयो ।
सेवा समितिका अध्यक्ष अमित टमट्टाको अध्यक्षतामा भएको कार्यक्रममा इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख कृष्ण थापा, ब्राह्मण समाजका अध्यक्ष डम्मर रिमाल, त्रिपुरा समाजका अध्यक्ष द्वारिका तिमिल्सिना लगायतले बोल्नुभएको       थियो ।