बाढी तटीय क्षेत्रका नागरिकले पूर्व सूचनाका आधारमा नगद सहायता पाउने,कैलाली र बाँकेमा ४ पालिकाका ७ हजार ७३३ परिवारले नगद सहायता पाउने

टीकापुर, १३ भाद्र/पूर्वानुमान मा आधारित विपद् सम्वेदनशील अग्रिम कार्य परियोजना अन्र्तगत कैलालीको टीकापुर र जानकीका बाढीको जोखिममा रहेका नागरिकले नगद सहायता पाउने भएका छन् ।
कर्णाली नदीका कारण बाढीको जोखिममा रहेका यी दुई पालिकाका नागरिकलाई जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानको सूचना अनुसार नगद सहायता दिइनेछ । त्यसका लागि तथ्यांक लिन गणकहरु छनोट भइसकेका छन् । गणकले अब समुदायका संकटासन्न बस्तीका घरघरमा गएर तथ्यांक लिने काम शुरु गर्ने    छन् ।
बिहीबार विपद् सम्वेदनशील अग्रिम कार्य परियोजना अन्र्तगत संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोगमा सप्रोस नेपालद्वारा सञ्चालित विपद् सम्वेदशिल अग्रिम कार्य परियोजना को प्रारम्भिक कार्यशाला भएको छ ।
परियोजनाले कैलालीमा टीकापुरको वडा नं. २, ५, ६, ७ र ८ मा ३ हजार ११ परिवार र जानकीका वडा नं. ३, ६ र ९ मा १५ सय ७ परिवारलाई लक्षित घरधुरी मानेको परियोजना संयोजक त्रिभुभव बास्तोलाले जानकारी दिनुभयो बताउनुभयो ।
५ महिना अवधिमा बाढीको पूर्वानुमानमा आधारित भएर विपद् सम्बेदनशिल अग्रिम कार्य परियोजनाले कैलाली र बाँकेका ४ पालिकामा ७ हजार ७ सय ३३ परिवारलाई नगद सहायता गर्नेछ ।
नगद सहायता ३ दिने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानको सूचना अनुसार पाइनेछ । कर्णाली नदीमा पानीको सतहले खतराको तह पार गरेपछि बाढी आउनुपूर्व छनोटमा परेका परिवारले ५ हजार नगद सहायता पाउनेछन् । सहायता रकम पालिकाको विपद् व्यवस्थापन कोष मार्फत सामाजिक सुरक्षा भत्तामा आबद्ध भएका लाभग्राहीको सोही खातामार्फत छनोटमा परेका नागरिकको बैँक खातामा पठाइने बास्तोला बताउनुहुन्छ ।
टीकापुरमा ४ वर्षदेखि नगद सहायता हुँदै आएको छ । २०७९ सालमा पहिलो पटक ३ हजार बढी परिवारले प्रति परिवार १५ हजार सहायता पाएका थिए । गत वर्ष पनि टीकापुरमा ३ हजार ११ परिवार अग्रिम सहायताका लागि छनोटमा परेका थिए ।
विपद् सम्बेदनशिल सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१ मा भएको व्यवस्था अनुसार अग्रिम सहायताका लागि विपन्न समुदायले मात्र
 सहायता पाउने छन् ।
परियोजनाले अग्रिम सहायता सँगै पालिकाको क्षमता वृद्धि, नीति निर्माणमा सहयोग लगायतका कार्यमा सघाइरहेको परियोजना संयोजक बास्तोलाले जानकारी दिनु भयो ।
यसअघि पनि अग्रिम नगद सहायताको कार्यहुँदै आएको बताउँदै नगर प्रमुख रामलाल डगौरा थारुले सहायता कार्य मापदण्ड अनुसार हुनुपर्ने भएकाले समुदायमा खट्ने गणकलाई इमानदार भएर तथ्यांक लिन आग्रह गर्नुभयो ।
यसरी दिइने सहायताले बाढी को विपद्को जोखिममा रहेका समुदायको दैनिक जीवन यापन र जिविकोपार्जनमा सहयोग हुने टीकापुर नगरपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले बताउनुभयो ।