मृत्यु हुनेको संख्या १८ पुग्यो, १ सय भन्दा बढी घाइतेको उपचार हुँदै,घाइतेको निशुल्क उपचार गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय

काठमाडौँ-२३ भाद्र/जेन-जी प्रदर्शनमा भड्किएको हिंसामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । जसमध्ये काठमाडौँ उपत्यकाभित्रका विभिन्न अस्पतालहरुमा १६ जना र इटहरीमा २ जनाको मृत्यु भएको हो ।

पछिल्लो अपडेट अनुसार काठमाडौँको केएमसी अस्पतालमा थप १ जनाको मृत्यु भएको छ। यो सँगै केएमसी अस्पतालमा २ जनाको मृत्यु भएको छ ।

यसअघि ट्रमा सेन्टरमा ७ जना, सिभिल अस्पतालमा ३ जना, एभरेष्ट अस्पतालमा ३ जना र शिक्षण अस्पताल महाराजगञ्जमा १ जनाको मृत्यु भएको थियो ।

विभिन्न ठाउँमा भएका घाइतेहरुको विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

अहिलेसम्म एक सय भन्दा बढी घाइतेहरुको उपचार भइरहेको छ।

यसैबीच, स्वास्थ्य मन्त्रालयले सबै घाइतेहरुको निशुल्क उपचारको व्यवस्था मिलाउने निर्णय गरेको छ ।