टीकापुर, २२ असोज/विरेन्द्र विद्या मन्दिरका पूर्व प्रधानाध्यापक फणिन्द्रराज रेग्मीको निधन भएको छ । मंगलबार विहान हृदयघात का कारण टीकापुर अस्पतालमा उपचारका क्रममा रेग्मीको निधन भएको हो । मंगलबार विहान ४ बजे हृदयघात भएका ५८ वर्षिय रेग्मीलाई उपचारका लागि टीकापुर अस्पताल ल्याइएको थियो । उहाँको मंगलबारै सन्कट्टी घाटमा अन्तिम संस्कार गरिएको छ ।
२३ वर्ष लामो समय विरेन्द्र विद्या मन्दिरमा शिक्षण गर्नुभएका रेग्मीले विद्यालयको प्रधानाध्यापक को जिम्मेवारी समेत सम्हाल्नु भएको थियो ।
टीकापुर प्राज्ञिक समाजका संस्थापक अध्यक्ष, शिक्षक संघ अछामका तत्कालीन सचिव समेत रहनुभएका रेग्मीले शिक्षा राजनीतिशास्त्रमा स्नातकोत्तर, बीएड अध्ययन गर्नुभएको थियो ।

अछामको बान्नीगढी जयगढ गाउँपालिकाको काफलखेत मा जन्मनुभएका हाल टीकापुर नगरपालिका–१ ब्लक नं. १५ निवासी रेग्मी शिक्षक, विद्धान तथा साहित्यकारका रुपमा समेत परिचित हुनुहुन्थ्यो । बौद्धिक तथा प्रखर बक्ताका रुपमा परिचित रेग्मीको निधनले टीकापुर शोकमा डुबेको छ ।
रेग्मीको निधनमा विद्यालयका तर्फबाट शिक्षक ओमनाथ उपाध्याय ले श्रद्धाञ्जली ब्यक्त गर्नुभयो ।
स्वर्गिय रेग्मीको निधनले शिक्षा क्षेत्रमा ठूलो क्षति भएको छ । उहाँसँग विद्यालयमा सँगै नेतृत्व गर्नुभएका विद्यालयका पूर्व प्रधानाध्यापक यज्ञराज ज्ञवाली मिलनसार, विदुषी, शिक्षाप्रेमी विरेन्द्र विद्या मन्दिर र टीकापुरको समुदायले गुमाएको बताउनु हुन्छ ।
टीकापुर प्राज्ञिक समाज स्थापनाकालमा रेग्मीसँगै सेवा गर्नुभएका टीकापुर बहुमुखी क्याम्पसका प्रमुख ढविन्द्रबहादुर रावल असल, सरल, लगनशील, इमानदार मित्रको निधनले स्तब्ध भएको र वि।सं। २०५९ सालमा प्राज्ञिक समाज
उहाँकै नेतृत्वमा स्थापित भएको सम्झदै उहाँको निधनले टीकापुरले महत्वपूर्ण ब्यक्ति गुमाएको बताउनुहुन्छ ।
साहित्यमा समेत लगाव रहेका रेग्मीको निधनले साहित्य क्षेत्र समेत स्तब्ध भएको छ । देवकोटा साहित्य कला परिवारका अध्यक्ष बलबहादुर रावल साहित्यीक समिक्षक, विश्लेषक तथा साहित्यप्रेमी गुमाएको बताउनु हुन्छ ।
स्वर्गिय रेग्मीको पार्थिव शरीरमा नेपाली काँग्रेसका नेता फकिरसिँह कडायत, बमबहादुर बम, क्षेत्रीय सभापति प्रकाश शाह, पूर्व क्षेत्रीय सभापति भुवनेश्वर अधिकारी लगायतले नेपाली काँग्रेस को झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुका साथै १ मिनेट मौन धारण गरिएको थियो ।
स्वर्गिय रेग्मीका श्रीमती, ४ छोरी र १ छोरा हुनुहुन्छ ।