काठमाडौँ ,१ मंसिर/ नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट आजदेखि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा सुरु हुँदै छ र यो यस्तो प्रतियोगिता रहेको छ, जसले नेपाली क्रिकेट भविष्यमा कस्तो हुनेछ, त्यसको धेरै हदसम्म निर्णय गर्नेछ । धेरैभन्दा धेरै सम्भावना छ, यही प्रतियोगितासँगै समग्र नेपाली क्रिकेट नै फेरिने संघारमा हुनेछ ।
- विराटनगर किंग्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमान्डु गोर्खार्ज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा
- यसपालि एनपीएलमा इंग्ल्यान्डका ७, अमेरिकाका ६, अस्ट्रेलिया र दक्षिण अफ्रिकाका ५–५, नामिबियाका ४, न्युजिल्यान्डका ३, भारत, श्रीलंका, अफगानिस्तान र स्कटल्यान्डका २–२, इटाली र युगान्डाका १–१ खेलाडी
- विजेतालाई १ करोड ११ लाख, दोस्रो हुनेलाई ५१ लाख, तेस्रोलाई २५ लाख र चौथो हुनेलाई १५ लाख
गत वर्षको पहिलो संस्करणले प्रतियोगिताको जग बसाएको थियो, यसपल्टको संस्करणले तला थप्ने काम गर्नेछ । प्रतियोगिताले दोस्रो वर्ष छुँदा यससँग जोडिएको सबैभन्दा ठूलो परिवर्तन भनेकै त्रिवि क्रिकेट मैदान कीर्तिपुरको सानदार देखिने पुनःसंरचना र दर्शकदीर्घा हुनेछ । सँगै फ्लड लाइट्स पनि ।
अब नेपाली क्रिकेट समर्थकले पनि नयाँ स्वादले यो खेल आफ्नै आँखा अगाडि हेर्न पाउने छन् । दिनमा हुने क्रिकेटभन्दा राति फ्लड लाइट्समा हुने क्रिकेट धेरै अर्थमा फरक हुने गर्छ । खेलमा पार्ने प्रभाव त स्वाभाविक नै छ । त्योभन्दा ठूलो अबदेखि दर्शकले फुर्सदमा आरामले बिदाको मानसिकतामा क्रिकेट हेर्न पाउने छन् ।
कुरा यत्तिकैमा सकिन्न, अबको यही प्रतियोगिताले एउटा अर्को तथ्य पनि सावित गर्न सक्नेछ, नेपाली क्रिकेटको सबैभन्दा बलियो र निर्णायक पक्ष नै आम दर्शक हुनेछन् । त्यसै पनि केही खास–खास टेस्ट मान्यता प्राप्तबाहेक दर्शकको घुइँचो लाग्ने भनेकै नेपालमा मात्र हो ।
यो तथ्य त अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सुरुदेखि नै मान्दै आएको छ । अब यिनै समर्थकले नेपाली क्रिकेटलाई धेरै अगाडिसम्म बढाउन सक्नेछ । जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाजबीचको खेलसँगै प्रतियोगिता सुरु हुनेछ र यसबारे सुन्न पाइएको सबैभन्दा खुसीको समाचार हो, यसका सबै टिकट बिक्री भइसके । बिक्रीका लागि टिकट खुलेको २४ घण्टा नबित्दै सकिएको थियो ।
