एकिन्द्र तिमिल्सेना
टीकापुर, ५ मंसिर\ स्थानीय तहको प्रशासन सञ्चालन र बजेट कार्यान्वयन गर्ने जिम्मेवारी पाएका कैलालीको भजनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निलमकुमार न्यौपानेले सबै भन्दा राम्रोका काम गरेको पुरस्कार आफैले लिनु भएको छ ।
कार्यपालिका बैठकबाट २०८१ फागुन ९ गते कर्मचारी प्रोत्साहन कार्यविधि पारित गरेका न्यौपानेले त्यसको ठीक दुई महिनापछि २०८२ बैशाख ९ गते नगर कार्यपालिका बैठकको निर्णय गराई पुरस्कार लिनुभएको हो । पुरस्कारको राशी तीन लाख ७५ हजार ५५५ रुपियाँ रहेको छ ।

कार्यविधिको परिच्छेद ३ को ४ (क) अनुसार उत्कृष्ट पाँच काम गरेका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतले र प्रमुख प्रशासकीय अधिकृतलाई नगरप्रमुखले मुल्याङ्कन गरी सिफारिस गर्ने व्यवस्था छ । ‘नगरपालिकाले विधि बनाएर दिने भनेकै हो तर जनप्रतिनिधिलाई अत्तोपत्तो नहुने गरी कार्यविधि बनेछ’ नगरप्रमुख केवल चौधरी भन्नुहुन्छ, ‘बैठक सकिन लाग्दा आफैलाई पुरस्कारका लागि नियुक्ति गरिहाल्नुभयो हामीले पनि केही भन्न सकेनौं पुरस्कार बुझ्दा कर पनि बुझाउनु भएन हामीले त्यति थाहा पाएनौ थुप्रै नराम्रा काम भए जान्ने हाकिम भएर त्यति त नगर्नु पर्ने नि ।’ प्रमुख चौधरीका अनुसार पुरस्कार जसरी दिए पनि लिए पनि महालेखा परीक्षकले बेरुजु निकाल्ने र प्रमुख प्रशाकीय अधिकृतले पैसा फिर्ता गर्नुपर्नेछ ।
न्यौपाने प्रमुख प्रशासकीय अधिकृतका रुपमा आइसकेपछि नगरपालिकाको वेभसाइटमा कार्यपालिकाका निर्णयहरु हाल्न बन्देज लगाउनु भएको थियो । उहाँको कार्यकाल भरीका निर्णयहरु नगरपालिकाको वेवसाइटमा छैनन् । नगरप्रमुखले पटकपटक निर्णहरु वेभसाइटमा हाल्न भन्दा पनि नहालेको आरोप छ ।
कार्यालयको रेकर्ड अनुसार शिक्षा क्षेत्रमा परिवर्तन गरेको, विकास निर्माणलाई उच्च प्राथमिकता राखी काम गरेको, संघ तथा प्रदेश सरकारसँग समन्वय गरी नगरपालिकाको हित र उन्नतीको काम गरेको, नागरिकका गुनासाको सम्वोधन गरी सन्तुष्टि दिएको, जनता र कर्मचारीसँग सुमधुर सम्वन्ध राखी सेवा सरल गरेका का कारण पुरस्कार दिएको भनिएको छ ।
प्रमुख प्रशासकीय अधिकृतले पन्ध्र महिनामै लाखौं पुरस्कार पाउने गरी उपलब्धी केही नभए पनि गर्नैपर्ने कामलाई देखाएर पुरस्कार लिने बहाना बनाएको एक अधिकृतले बताउनुहुन्छ ।
नगरपालिकाको आन्तरिक स्रोतबाट तीन लाख ७५ हजार ५५५ रुपियाँ लिएका न्यौपानेको कार्यकाल रहेको आ।व। २०८१÷८२ मा आन्तरिक आय पाँच करोड ३० लाख प्रक्षेपण गरिएकोमा दुई करोड ८२ लाख रुपियाँ मात्रै उठेको छ । बाढी र विपद्ले आक्रान्त भजनी नगरपालिकाको स्रोतबाट यत्रो रकम लिनु र दिनुु लाजमर्दो भएको स्थानीय नवराज काफ्ले बताउनु हुन्छ ।
अर्का स्थानीय नवराज मिश्र पनि नगरपालिकामा सडक नाटकका लागि लाखौं खर्च गरेर काठमाडौं बाट कलाकार ल्याएर ल्याएको थोरै पैसाले हुने डीपीआरमा ठूलो रकम खर्चेको बताउनुहुनछ ।
सङ्घीय सरकारले समेत दिन नसकिने राशीको पुरस्कार पालिका बाट प्रमुख प्रशासकीय अधिकृतले लैजाने कुरा अख्तियारकै दुरुपयोग भएको कर्मचारीहरु बताउछन् । न्यौपाने हाल गरुडा नगरपालिका सरुवा हुनु भएको छ । उहाँसँग फोन सम्पर्क गर्दा फोन उठेन ।