टीकापुर महोत्सव पुस २९ गतेदेखि माघ ११ गतेसम्म हुने

टीकापुर, ९ मंसिर/सुदुरपश्चिम औधोगिक ब्यापार मेला तथा टिकापुर महोत्सव २०८२ आयोजना गर्ने बारे सोमबार टीकापुरमा आयोजक उद्योग वाणिज्य सघले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । महोत्सव तयारीका लागि विभिन्न समिति समेत गठन भइसकेका छन् । यसपटकको महोत्सवमा २५० स्टल हुनेछन् । महोत्सव १० लाख बढीले अवलोकन गर्ने अनुमान गरिएको अध्यक्ष सन्तोष खड्काले जानकारी दिनुभयो । महोत्सवमा ३ करोड कारोबार हुने अनमान गरिएको छ । अध्यक्ष खड्काले यसपटक साना तथा मझौला कृषकको आयस्तर वृद्धि गर्ने, स्थानीय उत्पादनको पहिचान गरि बजार विस्तार, विकास र प्रवद्र्धनमा सहयोग गर्ने लगायतका महोत्सवका उदेश्य रहेका उहाँले जानकारी दिनुभयो ।
टीकापुरमा २०६५ सालदेखि महोत्सव आयोजना हुदै आएको छ । महोत्सवका उपलब्धि बारे जानकारी दिदै अध्यक्ष खड्काले वाणिज्य संघले उठाउँदै आएको सत्ती भन्सार कार्यालय मूल भन्सारका रूपमा स्थापना भई सञ्चालनमा रहेको, चिसापानी जंगलघाट मंगलसेन सडक निर्माणको कार्य सुरु भएको, कुइने स्थित कर्णाली नदीमा पुल निर्माण सम्पन्न भएको, सनकट्टी स्थित कर्णाली नदीमा पुल निर्माणको काम अन्तिम चरणमा पुग्नुलाई उपलब्धिका रुपमा लिएको जानकारी दिनुभयो ।
कार्यक्रम सञ्चालन महासचिव प्रकाश तिमिल्सिनाले जानकारी दिनुभयो ।
महोत्सवमा विगतका वर्षजस्तै कृषि प्रदर्शनी, शैक्षिक मेला, स्थानीय उत्पादित सामग्री, स्थानीय स्तरमा उत्पादन भएका जुत्ता, बेतबास, केराका  परिकार, जडिबुटी, हस्तकला तथा काष्ठकला प्रदर्शनीमा रहनेछन् । यसका साथै विद्यालय स्तरीय नृत्य प्रतियोगिता,विद्यालय स्तरीय शैक्षिक तथा विज्ञान प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारहरू का प्रस्तुति, विभिन्न समुदायका थारु, मगर, अछामी, डोटेली संस्कृति, रहनसहन र भेषभुषाको प्रदर्शनी, फुड फेस्टिवल र बाल उद्यान तथा रमाइलो मेला हेर्न पाइने बताइएको छ ।
वाणिज्य संघले विभिन्न खाले विपद्बाट सुरक्षाका लागि स्टलहरु को २ करोड बराबरको बीमा गर्ने, यस क्षेत्रको उत्थानमा विभिन्न क्षेत्रबाट योगदान दिने व्यक्तिलाई सम्मान लगायतका कार्य गर्ने जनाएको छ ।