अनुगमनमा कैफियत भेटिएका सामान नष्ट

टीकापुर, ९ मंसिर/टीकापुर नगरपालिकाले बजार अनुगमन का क्रममा भेटिएका म्याद नाघेका र उपभोगका लागि अयोग्य रहेका सामान र बिक्रीमा रोक लागाएका प्लाष्टिकका झोलाहरु बरामद गरी नष्ट गरेको छ । स्थानीय प्रशासन,  प्रहरी, उपभोक्ताकर्मीहरुको रोहबरमा नष्ट गरिएको हो ।
नगरपालिकाले बजार अनुगमन का क्रममा बिक्रीस्थलमा  राखिएका चियापत्ती, वेसन, पेश्की जवानो, क्रिमहरु, प्लाष्टिकका मालाहरु, सावुनहरु, पेय पदार्थ र प्लाष्टिकका झोला गरी ४२ प्रकारका सामानहरु बरामद् गरेको थियो ।
टीकापुर नगरपालिकाका निरीक्षण अधिकृत रञ्जु आचार्यले भन्नुभयो ‘४१ पसलको अनुगमन गर्दा त्यहाँ भेटिएका ८० हजार १५० रुपियाँका बराबरका सामानहरु नियन्त्रणमा लिई नष्ट गरेका छौं  प्लाष्टिकका झोला र मालाहरुको भने मुल्याङ्कन गरिएको छैन् ।’
टीकापुर नगरपालिकाले २०८२ साउन १ गतेदेखि प्लाष्टिकको झोला प्रयोगमा प्रतिवन्ध लगाएको थियो । प्रतिवन्धको चार महिना बितिसक्दा पनि केही असहयोगी व्यवसायीहरुले प्लाष्टिक झोलाको कारोवार जारी राख्दा पूर्ण रुपमा रोक्न नसकिएको नगर प्रहरीका प्रमुख पहल शाहले बताउनुभयो ।
प्लाष्टिक झोला प्र्रतिवन्धका कारण दैनिक रुपमा प्रयोग हुने प्लाष्टिकको प्रयोग घटेर वातावरण मैत्री झोलाहरु प्रयोगमा आएका छन् ।
नगरपालिकाको सरसफाइ उपशाखाका प्रमुख लोकबहादुर बुढाले भन्नुभयो, ‘बजारमा २० प्रतिशत जति प्लाष्टिकका झोला अझै प्रयोगमा रहेको पाइएको   छ अब व्यापारीले शून्यतर्फ उन्मूख हुनुपर्छ अन्यथा कारवाहीको प्रक्रियामा जानुपर्ने हुन सक्छ ।’
टीकापुर उद्योग वाणिज्य सङ्घ का महासचिव प्रकाश तिमिल्सेना संस्थागत रुपमा सङ्घको सहयोग रहेको तर नगरलाई स्वच्छ बनाउन व्यवसायीहरु इमान्दार रहनुपर्ने बताउनुहुन्छ ।