एकिन्द्र तिमिल्सेना
टीकापुर, १२ माघ/हरेक निर्वाचनमा नयाँ उम्मेदवार जिताएर चक्मा दिने कैलाली जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा यसपटकको चुनाव पनि रोचक हुने भएको छ । २०७९ को निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले फराकिलो मतान्तरमा जितेको यो क्षेत्रमा सो पार्टी विभाजन भएर चार टुक्रा भएपछि अब के होला भन्नेमा सबैको चासो बढेको छ ।
अघिल्लो निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रञ्जिता श्रेष्ठ ३० हजार ४०४ मत पाई विजयी हुनुभएको थियो । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका साझा उम्मेदवार रामजनम चौधरीले १८ हजार ८१ मत पाउनु भएको थियो भने नेकपा एमालेका तपेन्द्रबहादुर रावलले पाँच हजार ९१० मत पाउनु भएको थियो ।

अघिल्लो निर्वाचनमा विजयी पार्टी चार टुक्रामा विभाजन हुनु, काँगे्रस र माओवादी अलगअलग चुनाव लडनु, काँगे्रसमा महाधिवेशनले विवाद ल्याउनु, नेपाली कम्युनिस्ट पार्टीको उम्मेदवारको टिकट नागरिक उन्मुक्तिका नेताले पाउनु, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश सभापति चुनाव लडने भनिएकोमा नयाँ उम्मेदवारलाई उठाएको लगायतका विषयमा दलभित्रैका कार्यकर्तामा व्यापक विवाद छ । प्रारम्भीक चारण हेर्दा पुरानो भोटका आधारमा नेपाली कम्युनिस्ट पार्टी र नेपाली काँगे्रस र उज्यालो नेपाल पार्टीका उम्मेदवारबीच प्रतिश्पर्धा हुने देखिएका् तर घोषणापत्रमा युवाका मुद्दालाई कसरी समेटछन भन्ने हेर्न बान्की रहेको समाजसेवी जगदिश्वर पण्डितको भनाइ छ ।
नागरिक उन्मुक्ति पार्टीका चार उम्मेदवार
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले नागरिक उन्मुक्ति पार्टी नेपाल गठन गरेर फागुराम थारुलाई वैकल्पिक उम्मेदवार खडा गर्नुभएको छ । उहाँकी श्रीमती तथा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीलाई नेपाली कम्युनिस्ट पार्टीमा विलय गरेर रामलाल डगौरा थारुलाई उम्मेदवार बनाएर भोट मागिरहनु भएको छ । पार्टीका संस्थापक केन्द्रीय कोषाध्यक्ष कोमल ज्ञवाली राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार हुनुभएको छ । अर्का नेता प्रदीपकुमार चौधरी उज्यालो नेपाल पार्टीबाट उम्मेदवार बन्नुभएको छ । एकै पार्टीका चार नेता खडा भएपछि यसको लाभ नेपाली काँगे्रसले पाउने संभावना भएपनि यस क्षेत्रमा हरेक पटक हुने दलभित्रको किचलोका कारण खाशै उत्साह छैन् । अघिल्लो निर्वाचनमा भोट बैंक भएका दलहरुको किचलो देखिएपछि तेस्रो भएको दल नेकपा एमालेका उम्मेदवार द्वारिकाप्रसाद न्यौपाने पनि प्रतिश्पर्धामा देखिनुभएको छ ।
दोहो¥याएर नजितेको इतिहास
कैलाली जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा २०४८ सालदेखि हालसम्म कसैले दोहो¥यार चुनाव जितेको इतिहास छैन् ।
२०४८ सालको आम निर्वाचनमा नेपाली काँगे्रसबाट गङ्गाबहादुर कुँवर, २०५१ सालको मध्यावधी निर्वाचनमा नेकपा (एमाले)बाट हिमाञ्चलराज भट्टराई, २०५६ को आम निर्वाचनमा नेपाली काँग्रेसबाट सुशीला स्वाँर विजयी हुनु भएको थियो । त्यति बेलाका विजेता तीनै जना त्यसपछि दलभित्रकै राजनीति दृश्यबाटै हराउनु भएको छ । २०६४ सालमा भएको संविधान सभा निर्वाचनमा नेकपा माओवादीका उम्मेदवार रुपा सोसी चौधरी विजयी हुनुभएको थियो भने २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा फोरम लोकतान्त्रिकबाट जनकराज चौधरी विजयी हुनु भएको थियो । माओवादी सहिदपुत्री रुपा २०७९ सालको निर्वाचनमा समानुपातिकबाट फेरि प्रतिनिधि सभा छिर्नु भएको थियो भने जनकराज नेपाली काँगे्रसबाट उम्मेदवार बनेर प्रदेश सभा निर्वाचनमै पराजित हुनुभएको थियो । यसपटकको चुनावमा चर्चा जेसुकै भएपनि नागरिक सरकारमा मन्त्री भएर राजीनामा दिएका, पाँच वर्षका लागि स्थानीय तह प्रदेश, राष्ट्रिय सभामा निर्वाचित भएर फेरि राजीनामा दिएकाहरु र परीक्षण भएर कमजोर सावित भैसकेकाहरु चुनाव नजित्ने आंकलन भैरहेको छ । सुदूरपश्चिम विश्वविद्यालयका सहप्राध्यापक डाक्टर केशरबहादुर कुँवर भन्नुहुन्छ, ‘भोट माथि कुठाराघात गर्ने, सेलिब्रेटीहरुभन्दा राजनीतिक सिद्धान्त, भिजन र क्षमता भएको नेतृत्वले विश्वास जित्न सक्छन् ।’
रेशम परिवारको उद्य
टीकापुरमा २०७२ सालको भदौमा भएको हिंसात्मक र ध्वंसात्मक घटनापछि फरार रहेकै अवस्थामा २०७४ सालको निर्वाचनमा राष्ट्रिय जनता पार्टीबाट रेशमलाल चौधरी निर्वाचित हुनु भएको थियो । संसद भवन छिर्नै नपाई पूरै कार्यकाल जेलमा बिताएपछि रेशमलाल संरक्षक भइ खुलेको पार्टी नागरिक उन्मुक्तिबाट २०७९ को निर्वाचनमा रेशम पत्नि रञ्जिता विजयी हुनुभएको थियो । रेशम पिता लालबीर चौधरी सिमा जोडिएको बर्दियाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
यसपटकको निर्वाचनमा नेपाली काँगे्रसबाट जनकराज चौधरी, नेपाली कम्युनिष्ट पार्टीबाट टीकापुर नगरका निवर्तमान प्रमुख रामलाल डगौरा थारु र उज्यालो नेपाल पार्टीबाट जानकी गाउँपालिकाका पूर्व अध्यक्ष प्रदिपकुमार चौधरी यस अघि जनप्रतिनिधिका रुपमा काम गरिसकेका उम्मेदवार हुन् भने अरु सबै नयाँ अनुहार छन् । तीन पालिकाका धेरै मतदाता रहेको यस क्षेत्रमा जोशीपुरमा काँगे्रस, टीकापुरमा नेपाली कम्युनिस्ट पार्टी र जानकीमा उज्यालो पार्टीका उम्मेदवार पकड बढाउन लागेको र लोकप्रिय मत तान्न सक्ने उम्मेदवार विजयी हुने राजनीीतकर्मी उषा चौधरीको भनाई छ ।
यस क्षेत्रमा टीकापुर नगरपालिका, जोशीपुर गाउँपालिका, जानकी गाउँपालिकाका पाँच वडा र भजनी नगरपालिकाका दुई वटा वडाका एक लाख आठ हजार ४९१ मतदाता छन् ।