टीकापुरमा सुशासन प्रवद्र्धनका लागि सरोकारवालासँग अन्र्तक्रया, पुस मसान्तसम्म कैलालीका मात्रै २ सय ६९ उजुरी

टीकापुर, २३ माघ/कैलालीको टीकापुरमा सुशासन प्रवद्र्धनका लागि सरोकारवालासँग अन्र्तक्रया गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले बेरुजुको अवस्था, टीकापुरमा अख्तियारले गरिरहेका कार्य, कानून कार्यान्वयन नगर्दा आउने कानूनी झण्झट, उजुरीको अवस्था बारे जानकारी दिएको छ ।
कार्यक्रममा आयोगको कञ्चनपुर कार्यालयका शाखा अधिकृत  चेतराज भट्टले चालु आर्थिक वर्ष को पुस मसान्तसम्म कैलालीमा २ सय ६९ उजुरी रहेका जानकारी दिनुभयो । कैलालीमा गत वर्षका १०३ उजुरी फछ्यौट हुन बाँकी रहेका, १६६ यस वर्ष दर्ता भएका गरी २ सय ६९ उजुरी रहेका जसमा १५१ फछ्यौट भएका र ११८ बाँकी रहेका जानकारी दिनुभयो । अख्तियारमा उजुरीको संख्या हेर्दा कैलालीका सबैभन्दा बढी उजुरी रहेका छन् । सुदूरपश्चिम भरि पुस मसान्तसम्म १ हजार ६५ उजुरी रहेकामा ५६७ फछ्यौट भएका र ४९८ बाँकी रहेका छन् । महालेखाको प्रतिवेदन हेर्दा आर्थिक वर्ष २०८०र०८१ मा बेरुजु ९१ अर्ब ५९ करोड पुगेको छ ।
कार्यक्रममा टीकापुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले सबै नागरिकले सुशासन आफूबाट नभइ अरुबाट खोजिरहेका समस्या भएको बताउनु भयो । कानून कार्यान्वयन गर्दा जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति रिसाउने गरेको बताउँदै पदमा बसेकाहरुको काम गराइको तरिका हेर्दा सबैलाई मुद्दा लाग्ने खालको गल्ती गरिरहेकाले सुधार्दै लैजानुपर्ने र सुधार्नका लागि अख्तियार चाहिएको बताउनुभयो ।
अख्तियार भन्नेवित्तिकै डराउन नहुने बताउँदै स्थानीय तहलाई दिइएका २२ सुझाव कार्यान्वयन गरेमा समस्या नहुने बताउनुभयो ।
कार्यक्रममा आयोगका उपसचिव इञ्जिनियर विपिन ज्ञवालीले स्थानीय तहमा उपभोक्ताबाट गरिने विकास निर्माणका कार्य खरिद ऐनअनुसार गर्न सुभाव दिनु भयो । उहाँले औषधि खरिद गर्दा आवश्यकता एकिन गरी योजना बनाएर, म्याद लामो भएका औषधि खरिद गर्न सुझाव दिनुभयो ।
उहाँले आयोगले असल अभ्यास गरेको पालिकालाई दुरुत्साहन नगर्ने बताउादै विभिन्न समयमा दिएका सुझाव कार्यान्वयन गर्न अनुरोध गर्नुभयो ।
यसरी परेका उजुरीमा विस्तृत अनुसन्धानपछि अनियमितता पुष्टि भए आयोगले विशेष अदालत मा मुद्दा दायर गर्ने गरेको छ । आयोगमा पर्ने अधिकांश उजुरी आशङ्का, व्यक्तिगत टकरावका कारण पनि आउने गरेको, आवश्यक प्रमाण नभेटिँदा आयोगले स्क्रिनिङ्क र प्रारम्भिक अनुसन्धानबाटै फछ्र्योट गर्ने गरेको छ ।