विद्यार्थी स्मृति पार्कको शिलान्यास

टीकापुर, २ चैत्र/ २०८० असोज २० (७ अक्टोबर २०२३) मा इजरायलमा मारिएका एघार नेपाली विद्यार्थीको स्मृतिमा टीकापुरमा पार्क बन्ने भएको छ ।
सुदूरपश्चिम विश्वविद्यालयको स्कुल अफ एग्रिकल्चरबाट सिक्दै कमाउदै कार्यक्रममा इजरायल गएका विद्यार्थीहरुमाथि हमासले गरेको आक्रमणबाट नेपाली विद्यार्थीहरु मारिएका थिए । हमासको आक्रमणमा परी ज्यान गुमाएका दश जना विद्यार्थीहरुको शव त्यति बेला र वेपत्ता विपिन जोशीको शव दुई वर्षपछि प्राप्त भएको थियो ।
विश्वविद्यालयको कृषि विज्ञान सङ्कायको डीन कार्यालय रहेको टीकापुरमा स्मृति पार्क बन्न लागेको हो । करीब २५ लाखको लागतमा बन्न लागेको पार्कको आइतबार इजरायली राजदूत श्मुलीक एरी बासले शिलान्यास गर्नु भएको छ  ।
पार्क शिलान्यास कार्यक्रममा बोल्दै राजदूत बासले सिक्ने उद्देश्यले मात्रै इजरायल गएका नेपाल लगायतका अद्यय देशका विद्यार्थी मारिएकोमा क्षमा माग्नु भयो ।
उहाँले इजराइली र विदेशी  गरी एकै पटक एक हजार २०० जनाको ज्यान गएको उक्त घटना इजरायलले बिर्सन नसक्ने बताउनुभयो ।
उहाँले मृतक विद्यार्थीका परिवारलाई आवश्यक परेको जुनसुकै बेला सिधा फोनमा कुरा गर्न अनुरोध गर्नुभयो  ।
६८ दशमलव ५ मिटर लम्बाइ र ३३ मिटर चौडाइ रहेको स्मृति पार्कको ५० प्रतिशत केन्द्र पार्क र २५/२५ प्रतिशत फूलहरु रहनेछन् भने त्यसको बीचमा स्मृति स्तम्भ र वरिपरी एघार जना स्वर्गीय विद्यार्थीहरुको प्रतिमा राखिने  छ । यो पार्क निर्माणका लागि केही इजरायली सरकार, केही विश्वविद्यालय र केही अन्य निकायको सहयोग रहने विश्वविद्यालयको कृषि विज्ञान सङ्कायका डीन प्राध्यापक डाक्टर विष्णुविलाश अधिकारीले बताउनु भयो ।
शिलान्यास कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका पदाधिकारीहरु, पूर्व पदाधिकारीहरु उपस्थित हुनुहुन्थ्यो ।