मानसिक समस्यालाई प्राथमिकता दिएर काम गर्छौ : नगार्जी

दुर्गा देवकोटा
टीकापुर, ५ चैत्र/मन, शरीर र समाज बिचको अन्तरसम्बन्धले समाजमा मानसिक समस्याका बिरामीहरु ब्ढ्दै गएका छन् । मानसिक कुराले स्वास्थ्यका धेरै कुराहरूमा प्रभाव पार्ने भएकाले टीकापुर नगरपालिकाले मानसिक सेवालाई प्राथमिकता दिने बताएको छ ।
बुधबार टीकापुर नगरपालिका मा पालिकास्तरीय मनोविमर्शकर्ता लाई सूचिकृत गर्नका लागि भएको छलफल कार्यक्रममा कार्यवहाक नगर प्रमुख रामबहादुर नगार्जीले मानसिक समस्या घरघरमा देखिन थालेकालाई यसलाई प्राथमिकता दिएर काम गर्ने बताउनुभयो ।
त्यसका लागि पहिलो चरणमा मनोसामाजिक कर्तालाई सूचीकृत गर्ने भएको छ । मानसिक समस्या घरघरमा रहेको, बालबालिका अझ अप्ठ्यारोमा रहेकाले, विद्यालयमा पनि मनोशिक्षा दिनु पर्ने आवश्यकता रहेको, मानिसको जीवन तनावपूर्ण रहेकाले यसमा काम गर्न पालिकाले प्राथमिकता दिने बताउनु भयो ।
मानसिक स्वास्थ्य भन्नाले मनोवैज्ञानिक, संवेगात्मक तथा सामाजिक तन्दुरुस्तीलाई बुझाउँछ । विश्व स्वास्थ्य सङ्गठनले मानसिक समस्यालाई साधारण तथा दैनिक आईपर्ने तनावहरू व्यवस्थापन गर्न कठिनाइ भई, दैनिक, घरायसी तथा समाज मा योगदान गर्न बाधा भएको अवस्था भनी परिभाषित गरेको छ ।
मन, शरीर र समाजको बिचमा तालमेल भएन भने मन खिन्न हुने, दुःख लाग्ने, आफूलाई माया र सम्मान नगरिएको महसुस हुने, विरक्त तथा दिक्दारी लाग्ने आदि हुन्छ जसलाई हामी मनोसामाजिक समस्या भनेर चिन्छौं । मनोसमस्या बालबालिकामा पनि उच्च देखिन थालेकाले यसको समयमै निराकरण हुनुपर्ने भएकाले बाल कल्याण संघको आयोजना वल्ड भिजनको आर्थिक सहयोगमा टीकापुरमा कार्यक्रम भएको हो ।
सामाजिक विकास समितिका संयोजक लालविर चौधरीले मनोसेवा संघसंस्थाको सहयोगमा मात्र भइरहेको बताउँदै, पालिकाले प्राथमिकता नदिएकाले आउँदा दिन मा योजना बनाएर काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बाल कल्याण संघ टीकापुरका कार्यक्रम संयोजक राधिका गिरिले बालबालिका हिँसामा परेको, बालविवाह भइरहेको, अभिभावकको संरक्षण नहँुदा बालबालिकामा मानसिक समस्या बढ्दै गएकाले हरेक पालिकामा मनोसेवा दिन सकेमा बाल समृद्धिमा सघाउन सकिने बताउनुभयो ।
स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले पालिकामा दुई जना तालिम प्राप्त मनोपरामर्शदाता रहेका, दुई स्वास्थ्य नारायणपुर स्वास्थ्य चौकी र विजयनगर       शहरी स्वास्थ्य केन्द्रमा मानसिक स्वास्थ्यको उपचार सेवा दिइरहे का बताउनुभयो । मनोसामाजिक परामर्शदाता मिना कुँवरले आफुहरुले सहकार्य गरेर मनोसेवा दिइरहेका बताउनु भयो ।
घटना व्यवस्थापन सहायक कौशिला चौधरीले सञ्चालन गर्नुभएको कार्यक्रममा संघसंस्था समन्वय शाखा प्रमुख अमृता रावल लगायतले सुझाव दिनु भएको थियो ।