टीकापुर, ८ चैत्र/सन्त निरंकारी मण्डल नेपालले महिलाहरूलाई आध्यात्मिक क्षेत्रमा उत्प्रेरित गर्न र प्रेरणा जगाउन कैलालीको बर्दगोरियामा ‘सुदूरपश्चिम प्रदेश महिला समागम (सम्मेलन)’ गर्न लागेको छ ।
२०८२ चैत १३ गते हुने सम्मेलनमा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट करिब पाँच हजार महिला सन्त–भक्तहरूको सहभागिता रहने अपेक्षा गरिएको मण्डलका राष्ट्रिय अध्यक्ष नरबहादुर रावलले जानकारी दिनु भयो ।
शनिबार बौनियाँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष रावलले सन् १९२९ मा पाकिस्तानको पेशावरबाट सुरु भएको सन्त निरंकारी मिशन विशुद्ध आध्यात्मिक विचारधारा भएको र निराकार प्रभुको ज्ञान प्राप्त गरेपछि भक्ति गर्दै मर्यादित जीवन जिउनु नै मिशनको मूल पद्धति भएको बताउनुभयो ।

हाल जुलाई २०१८ देखि सद्गुरु माता सुदीक्षा जी महाराजले मिशनको बागडोर सम्हालि रहनुभएको बताउभुभयो ।
कार्यक्रमको तयारीका लागि समागमस्थल तथा वरपरका सडक क्षेत्रको सरसफाइ भैरहेको, पण्डाल तयारी भैरहेको र कार्यक्रममा सहभागी हुन आउने सबै सन्त–भक्तहरूका लागि भण्डारा व्यवस्थापन तयारी भैरहेको केन्द्रीय प्रचार विभाग प्रमुख देवराज रिमालले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा मण्डलका केन्द्रीय सचिव अनिल महर्जन, कोषाध्यक्ष कृष्णकन्हैया पाठक तथा सदस्यहरू नरबहादुर बटाला र बाबुराज महर्जनको उपस्थिति रहेको थियो ।