टीकापुर, २७ बैशाख/उद्योग वाणिज्य सङ्घ भजनीको अध्यक्षमा जयबहादुर बुढा चयन हुनुभएको छ । वाणिज्य सङ्घको वार्षिक चुनावी साधारण सभाले बुढालाई सर्वसम्मत रुपमा अध्यक्षका लागि चयन गरेको हो ।
लामो समयदेखि भजनीमा बसेर व्यापार व्यवसाय गर्दै आउनु भएका बुढा यसअघि उद्योग वाणिज्य संघ भजनीको ९ वर्षसम्म सचिव हुनुहुन्थ्यो । पेशाले पत्रकारिता र व्यापारमा सक्रिय बुढा व्यापारीको हकहितका क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।

यसैगरी उपाध्यक्ष मा राम प्रशाद रेग्मी, सचिव जनक बहादुर विक, कोषाध्यक्ष शान्ति ओझा, सह सचिव विनोद शाह सर्वसम्वत भएका छन् । सदस्यमा निर्मला परियार, राज कुमार अग्रवाल, लाल बहादुर चौधरी, उपेन्द्र केसी, नृप बोगटी, नरेन्द्र थापा सर्वसम्वत चयन भएका हुन् ।
अध्यक्षमा निर्विरोध चयन भएपछि बुढाले उद्योग वाणिज्य संघ भजनीलाई व्यापारीको हकहितका क्षेत्रमा काम गर्ने संस्थाका रुपमा विकास गर्ने बताउनुभयो । उहाँले व्यवसाय, उद्योग र स्थानीय अर्थतन्त्र सुधारका लागि प्रयास र सहकार्य गर्ने बताउनु भयो ।
‘‘लगानी मैत्री वातावरण बनाउन पहल गर्ने स्थानीय उत्पादन र बजार प्रवर्धनका लागि सहजीकरण गर्नेछु’’, अध्यक्षमा चयन भए पछि बुढाले भन्नुभयो, ‘‘युवा उद्यमशीलता र रोजगारी सिर्जनाका लागि समन्वय र सहकार्य गरेर काम गर्नेछु ।’’
उद्योग वाणिज्य सङ्घ भजनीको पाँचकठ्ठा जमिनमा आफ्नै भवन पनि छ ।