१० महिनामा ६ सय धारा थपिए

टीकापुर, २७ बैशाख/टीकापुरस्थित साना सहरी खानेपानी संस्थामा धारा थपिने क्रम बढ्दै गएको छ । २०८२ साल साउन  यता मात्र करिब ६ सय घरधुरी मा पानीको धारा जडान गरिएको हो । संस्थाले धारा जडान गर्दा १८ हजार रुपैया शुल्क लिदै आएकोमा वर्तमान कार्यसमितिले उपभोक्ता संख्या बढाउन सहुलियत मा धारा जडान कार्यक्रम ल्याएको छ ।
सहुलियतमा १५ हजार रुपैया र त्यसमा पनि ७ हजार रुपैया अग्रिम दिने र बाँकी रकम मासिक रुपमा बुझाउने शर्तमा धारा जडान गर्ने कार्यक्रम समितिले ल्याएको थियो । यसरी सहुलियत मा दिएपछि ४४३ जनाले लाभ लिएको संस्थाका अध्यक्ष खडग धामीले बताउनुभयो ।
‘‘हाम्रो कार्य समिति आएपछि करिब ६ सय धारा थपिएका छन्, यसरी थपिदा यतिखेर ९ हजार एक सय उपभोक्ता पुगेका छन्’’, अध्यक्ष धामीले भन्नुभयो, ‘‘१० हजार ३ सय २० मिटर पानीको पाइप जोडेका छौँ । ’’
अहिले २ सय ९० किलोमिटर पाइप बिस्तार भएको पनि धामीले बताउनुभयो । साउन यता २० वटा भल्व (वास) खरिद गरिएको भए पनि ५/६ वटा जडान भइसकेका छन् । यस वर्ष एक करोड रुपैया साँवा व्याज भुक्तानी भइसकेको र अझै एक करोड ऋण बुझाउने योजना बनाएको अध्यक्ष धामीले जानकारी गराउनु भयो । ‘‘सकेजति मितव्ययी भएर काम गर्दै आएका छौँ’’, अध्यक्ष धामीले भन्नुभयो, ‘‘खानेपानीमा अझै धेरै सुधारका कार्यक्रम आवश्यक छ, यसका लागि यस क्षेत्रका जनप्रतिनिधिले पनि ध्यान दिनुपर्छ ।’’
शुद्ध पानीका लागि फिल्टरको आवश्यक छ भने ८० वटा जति भल्वको आवश्यक छ । यसका लागि ठूलो मात्रामा बजेटको आवश्यक पर्छ । स्थानीय राजनीतिक दल र जनप्रतिनीधि एक भएर काम गर्न जरुरी छ । संस्थासँग अझै नगर विकासको ऋण भए पनि क्रमिक रुपमा घटाउने र पानी  विपन्न नागरिकलाई पाने खाने वातावरण बनाउने प्रयासमा लागेको संस्थाका सचिव प्रकाश खड्काले भन्नुभयो ।
‘‘संस्थालाई रु. १२ करोड ४८ लाख ऋण छ तर नियमित रुपमा ऋण घटाउँदै आएका छौँ’’, सचिव खड्काले भन्नुभयो, ‘‘ब्लक ‘सि’ मा फिल्टर जडान गर्ने काम सम्पन्न भएको छ भने १९ नम्बर, २८ नम्बरमा केही दिनमा जडान हुने भएको छ । बाँकी रहेको १२ नम्बर ट्याङ्कीमा केही समयपछि जडान हुन्छ ।’’
 ‘‘हाम्रो कार्य समिति आएपछि सुधारका कार्यक्रम भएका छन् भने वडासँग मिलेर बिपन्न नागरिकलाई सहुलीयतमा धारा जडान गर्ने गरेका छौँ’’, खड्काले भन्नुभयो । उहाँले पानी आपूर्ति बन्द भएपछि आफै फिल्डमा जाने गरेको छु भन्दै महशुल दैनिक बैँकमा जम्मा गर्ने गरेको बताउनु भयो ।  केही दिन अघि गरिएको भ्रमणले पनि केही कुरा सिकेर आएको बताउँदै सुधारका अन्य कार्यक्रम ल्याउने बताउनुभयो ।
यो आयोजना रु. ५३ करोड ४० लाख ३६ हजार ७२६ रुपैयाँको लागतमा २०७४ सालमा निर्माण सम्पन्न भएको हो । आयोजनामा ७० प्रतिशत नेपाल सरकार, २५ प्रतिशत नगर विकास कोषको ऋण र ५ प्रतिशत उपभोक्ताको लगानी रहेको छ । संस्थाकै पहल मा टीकापुर नगरपालिकाको बजार क्षेत्रमा ढल निकास र फोहोर व्यवस्थापनको काम समेत  भएको छ । संस्थाले  विभिन्न सार्वजनिक स्थलमा शौचालय निर्माण समेत गरिदिएको छ ।
यसका साथै यसअघि टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था र कास्की को लेखनाथ साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था लाई नगर विकास कोषको ३७ औं वार्षिकोत्सवमा नगर विकास कोषले उत्कृष्ट सेवाग्राही घोषणा गरेको थियो ।