शैली नमिले पनि नियत असल हुनुपर्छ

सम्पादकीय

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नीति तथा कार्यक्रमका दिन देखाएको व्यबहारले सबैलाई दुखि बनाएको हुनुपर्छ । पुरानो शैलीमा नेपाली संस्कार भएकाले अप्ठ्यारो लाग्नु स्वभाविकै हो । नेपाली समाजमा सम्मानका नाममा नानाथरी प्रोटोकल बनाउने प्रचलन बढ्दै गएको छ । राष्ट्र प्रमुखको सम्मान बढाउँदा राष्ट्रकै गरिमा बढ्छ तर गरिमा बढाउन कस्तो भूमिका खेलेका छन् भन्ने कुरा यतिखेर बहस हुन थालेको छ । प्रजातन्त्रका लागि लडेका नेताहरुको व्यबहारबाट आजित भएका जनता यतिखेर प्रधानमन्त्रीले जे गर्दा पनि ठीक छ भन्ने सोचमा छन् । प्रधानमन्त्रीको आलोचना गर्न थालेपछि विगतका कमिकमजोरी बारे कुरा ल्याइहाल्छन् । यतिखेर नेपाली जनता बालेनका बारेमा मात्र सोच्न थालेका छन् । आर्थिक अराजकता बढ्दै गएको थियो । मुलुकमा चरम बेथिती बढ्दै गएको थियो । जनताले तिरेको कर दुरुपयोग गर्ने प्रबृत्ति बढ्दै गएको थियो । नागरिकले तिरेको कर दुरुपयोग गर्नु अपराध हो भन्ने कुरा समयमै बुझेको भए यतिखेर पुराना राजनीतिक दलका नेताहरुले बोलेका कुरामा जनताले सहमति जनाउने थिए । प्रधानमन्त्री बालेनले सुधारका कार्यक्रम ल्याएका छन् । खर्च कटौती तिब्र रुपमा भइरहेको छ । भएभरका राजनीतिक नियुक्ति एकै पटक खारेज भएका छन् । यसरी राजनीतिक नियुक्ति खारेज गर्दा करोडौ रुपैया बचत भएको छ भने मन्त्रालयको संख्या घटाएका छन् । मन्त्रालयका संख्या घटाउँदा अर्बाै रुपैया बचत भएको छ । वर्तमान सरकारले सुधारका संकेत देखाएको छ । प्रजातन्त्रमा प्रतिपक्ष हुन्छन् । प्रतिपक्षले वर्तमान सरकारको बारेमा बोल्दा धेरै बिचार गर्न जरुरी छ । यसरी बोल्दा बिगतमा सत्ताको स्वाद लिएकाहरुले बोलेर जनताले पत्याउनेवाला छैनन् । हरेक पार्टीमा फ्रेस नेता आएर सही तरिकाले वर्तमान सरकारको आलोचना गरेपछि जनता केही प्रभावित होलान नत्र यही अवस्थामा वर्तमान सरकारको बिरोध गर्नुको अर्थ छैन । यतिखेर जनता विपक्षीका कुरा सुन्ने पक्षमा छैनन् । यसको एउटै कारण हो विगतमा भएका कमिकमजोरी । विगतमा सबै नराम्रो मात्र भएका थिएनन् तर जनताले बुझ्ने गरी बेथिती बढाउने काम भयो । चरम लुट भयो । राज्य लुट्नेहरु हरेक पार्टीमा हाबी भए । राज्य दोहनमा लागेकाहरुका लागि के कांग्रेस , के माओवादी , के एमाले जो भएपनि काम भइहाल्थ्यो । तसर्थ विगतमा भएका कमजोरी हटाउन सबै राजनीतिक दल एक भएर लाग्न जरुरी छ । सुधारको कुरा कही न कहीबाट सुरुवात हुन जरुरी थियो । प्रजातन्त्र हो आज राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार छ भोली कांग्रेस या अरुको सरकार आउछ । इमान्दार भएर यो सरकारलाई सघाउन जरुरी छ । बिरोधका लागि बिरोध गर्ने हो भने प्रतिपक्षमा भएका दलहरुलाई अझ घाटा हुने निश्चित हो ।