सम्पादकीय
यतिखेर राजनीतिक संकट छ । कांग्रेस एकजुट भएर प्रतिपक्षको भूमिका निभाउनुपर्ने हो । कांग्रेसका सभापति गगन थापाले सरकारका बिरुद्ध बोल्ने बित्तिकै सामाजिक सजालमा गालीको बौछार हुन्छन् ।कांग्रेस बिरोधीले जथाभावी भन्नु स्वभाविकै होला तर कांग्रेसीहरुले प्रतिवाद गरेको देखिदैन । सभापतिका बिरोधी समूहले सभापतिको बचाउ नगरेपनि सभापति पक्षधर समूहले सामाजिक सञ्जालमा बचाउ गर्नुपर्ने हो । सभापति पक्षधर समुहले पनि प्रतिवाद नगरेको देख्दा केही समस्या त छ भनेर प्रष्ट बुझ्न सकिन्छ । आफ्नो नेतृत्वको बिरोधीले हुर्मत लिइरहने अनी कांग्रेस बलियो छ भनेर गफ सुन्नुपर्ने हो ? सामाजिक सञ्जालमा भएका टिप्पणी पढ्ने हो भने कांग्रेस छैन जस्तो लाग्छ । कांग्रेसको सभापतिका बारेमा बिरोधीले नानाथरी कुरा गर्दा कांग्रेस एक भएर प्रतिवाद गर्नुको साटो आपसमा लड्दै गएका छन् । एक अर्कालाई सक्ने नीतिमा व्यस्त भएपछि कांग्रेस बिरोधीले टाउको ठाडो गराउनु स्वभाविकै हो । बिशेस महाधिबेशनपछि कांग्रेस द्वन्दमा फसेको हो । निर्बाचनपछि त काँग्रेसको अवस्था नाजुक छ भन्ने प्रष्ट भएको छ । कांग्रेस कमजोर भएको बेला कसरी एक हुने भन्ने बारेमा बसेर छलफल गर्नुको साटो एकोहोरो भाषण गरेर एक अर्काको हुर्मत लिने काम भइरहेको छ । पार्टीको नेतृत्व गम्भिर हुनुको साटो बोलेको बोल्यै गर्दा आम जनता पनि दिक्क भएका छन् । वर्तमान सरकारको विकल्प भनेको कांग्रेस हो भनेर सोचिरहेका जनता कांग्रेसको रडाको देखि निरास मात्र भइरहेका छैनन् धेरैले काग्रेससंग नाता तोड्दै छन् । सबै मिलेर एकताको माहाधिबेशन गर्नुको साटो कृयाशिल सदस्यता अध्यावधिकको फण्डा ल्याएर अझ द्वन्द बढाउने काम भएको छ । आफु महामन्त्री भएका बेला नविकरण भएका कृयाशिल सदस्य पुनः अध्यावधिक गर्न दबाब दिन थालिएको छ । कारबाहीको धम्की दिने काम भइरहेको छ । पार्टी कव्जा गरेर कारबाही त गर्नुहोला भोट माग्न कसरी जाने हुन् । त्यसै त कांग्रेस कमजोर छ । अध्यावधिकका नाममा सदस्यबाट बञ्चित भएभने भोली कांग्रेसलाई माँया किन गर्छन् । स्थानीय कार्यकर्ताहरुको मेहनतले कांग्रेसको सख्या बढेको हो । केन्द्रका नेताको मुख हेरेर कांग्रेस भएका धेरै कम छन् । वीपि को समाजवाद र प्रजातन्त्र भनेर मान्छे कांग्रेस भएका हुन् । तसर्थ नविकरण भएका सबै सदस्यहरुले अधिबेशनमा भाग लिने वातावरण बन्नुपर्छ । अध्यावधिक गर्नु छ भने एक बर्ष भित्र गरिसक्ने योजना ल्याउन जरुरी छ । धेरै कृयाशिल सदस्य यतिखेर देश बाहिर छन् भने यो गर्मीमा घर घर गएर कृयाशिल सदस्य अध्यावधिक गर्न व्यबहारिक छैन । जति भएपनि पुग्छ भन्ने सोच नेतृत्वको हो भने कांग्रेस सकिएपनि सभापतिको पद बचिरहला तर जनताको मत पाउनु त्यसै हो । त्यसैले इमान्दार नेता तथा कार्यकर्ताले बुझ्न जरुरी छ ।