टीकापुर, २९ जेठ/बुधबार हावाहुरीसँगै आएको पानीले कैलालीमा केरा बालीमा लाखौँको क्षति भएको छ । हावाहुरीले किसानको बारीमा फलेका केरा ढालेको हो ।
टीकापुर २ कोठारपुरका जनक चौधरीको केरा खेतीमा हावा हुरीले क्षति गरेको छ । २ विघा जमीनमा फलिसकेको केरा खेतीमा ६० प्रतिशत क्षति भएको किसानको गुनासो छ । ‘‘केरा फलेको थियो, अबको दुई महिनापछि बजार जानका लागि तयार हुने अवस्थामा थियो’’, किसान चौधरीले भन्नुभयो, ‘‘करिव १४ लाख क्षति भएको छ । आम्दानी लिने समयमा विपद् आइलाग्यो ।’’

टीकापुर ७ सत्तीका केरा किसान कृत ठकुल्लाको बारीमा करिव सय बोट केरा हावाहुरीले ढालेको छ । ५ विघामा केरा खेती गर्नुभएका ठकुल्लाले यसवर्ष थप ४ विघामा खेतीगर्ने तयारी गर्नुभएको छ । ‘‘बारीमा गनेको छैन, सयौँ बोट क्षति भएका छन्’’, उहाँले भन्नुभयो, ‘‘हावाहुरी र असिनासहित आएको पानीले केरा किसानलाई पीडामा पा¥यो ।’’

टीकापुर नगरपालिका वडा नं. ५ का किसान शेरबहादुर साउँद को बारीमा पनि हावाहुरीले क्षति पुगाएको छ । ‘‘बारीमा केरा ढलेका छन्, गन्न थालेमा तनाव हुन्छ’’, उहाँले भन्नुभयो, ‘‘मजस्ता सयौँ किसानलाई आज पीडा भएको छ । केरा किसानले उत्पादन लिने बेलामा नोक्सानी बेहोर्नु परेको छ ।’’

हावाहुरीले किसानको लाखौँका केरा खेतीमा क्षति गरेको छ । टीकापुरमा केरा किसानको बालीमा हावाहुरीले क्षति गरेको गुनासो धेरै आएकाले वडास्तरमा तथ्यांक संकलन कार्य शुरु गरिएको टीकापुर नगरपालिका कृषि शाखा प्रमुख मोतिसिँह विकले बताउनुभयो ।
‘‘धेरै किसानले फोन गरिरहनु भएको छ । ठूलो क्षति भएको छ’’, उहाँ भन्नुहुन्छ, ‘‘क्षतिको विवरण थाह पाउनका लागि वडा वडामा तथ्यांक संकलन कार्य शुरु गरेका छौँ ।’’
बुधबार आएको हावाहुरीले केरा खेतीमात्र नभइ रुख ढाल्ने, दर्जनौँ घरमा जस्तापाता, टिनका छाना उडाएका छन् । कतिपय ठाउँमा विजुलीका पोल ढलेका छन् ।