मगर जातिको संस्कृति प्रवर्धन तथा संरक्षण गर्र्न भूमि पर्व

टीकापुर, २ असार/मगर जातिको संस्कृतिसँग जोडिएको भूमिदेवताको पूजा गर्ने भूमि पर्व शुरु भएको छ । पर्वको कैलालीको टीकापुरमा उद्घाटन गरिएको छ । पर्व मनाउन दाङ देखि कैलाली सम्मका सयौँ मगर समुदायका अगुवा टीकापुर पुगेका छन् ।
नेपाल मगर संघ टीकापुरको आयोजनामा दुई दिने कार्यक्रम सुरु भएको हो । कार्यक्रममा मगर समुदायले मनाउँदै आएको भूमिपर्वको महत्वका बारेमा चर्चा गरिएको छ । भूमि पर्व विशेष गरी मगर समुदायले भूमि, प्रकृति र कृषि उत्पादन वृद्धि होस् भनी मनाउने गरिएको मगर समुदाय का अगुवा धर्मराज घर्ती मगरले बताउनुभयो ।
‘‘भूमे पर्वमा हामीले राम्रो बाली उत्पादन होस् भनी पूजा गर्ने गर्दछौँ । सोमबार विहानै एकै ठाउँमा सबै जम्मा भएर पूजा गरिएको छ’’, उहाँले भन्नुभयो, ‘‘प्राकृतिक विपत्तीबाट सुरक्षा, मानिसको सुख र समृद्धिको कामना गरिन्छ ।’’
नेपाल मगर संघ टीकापुरका कार्यवाहक अध्यक्ष दिलु घर्ती मगरले पहिलो दिन भूमि पुजा सहित विविध कार्यक्रम गरिएको र आज विभिन्न कार्यक्रम गरी समापन हुने जानकारी दिनुभयो । ‘‘कार्यक्रममा मगर समुदाय मा संस्कृति, नाचगान, पहिरन, गरगहना प्रस्तुत गरेका छौँ’’, उहाँले भन्नुभयो, ‘‘संस्कृति र परम्परा युवा पुस्तालाई सिकाउने प्रयास पनि गरेका हौँ ।’’
कार्यक्रममा दाङबाट टीकापुर पुग्नुभएका आशबहादुर जिगमले मगर समुदायमा प्रचलित पर्व मनाउन आफू दाङदेखि टीकापुर आएको बताउनुभयो ।
‘‘दैवीक क्षति नहोस्, विपत्तीबाट बच्न सहयोग होस् भनी भूमि पुजा गर्ने, नाचगान गर्दै रमाइलो गर्ने गरिएको छ’’, उहाँले भन्नुभयो, ‘‘सामूहिक नाचगान, सांस्कृतिक कार्यक्रम भइरहेका छन् । भूमि प्रतिको सम्मानको महत्व बढाउन यो कार्यले सघाउँछ ।’’
कार्यक्रमका प्रमुख अति िसुदूरपश्चिम प्रदेश सभा सदस्य लक्ष्मण किशोर चौधरीले पर्वले प्रकृतिप्रतिको सम्मान, सामुदायिक एकता र सांस्कृतिक पहिचान          संरक्षणमा योगदान दिने बताउनु भयो । ‘‘स्थानीय परिकार तथा खानाको समेत सामूहिक रुपमा खानपान गर्ने अभ्यास राम्रो लाग्यो’’, उहाँले भन्नुभयो, ‘‘जमीन नभए हामी भोकै हुन्छौँ, हाम्रो पेट भर्ने भूमिको पूजा गर्ने चलन राम्रो हो ।’’
कार्यक्रममा टीकापुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मोहन लुहार बिक, मगर समुदायका अगुवा रमेश थापा मगर, संघका सुदूरपश्चिम अध्यक्ष दलबहादुर घर्ती मगर, मगर संघका जिल्ला अध्यक्ष वीरेन्द्र थापा मगर, कमल पुन मगर लगायतले भूमि पूजाको महत्वबारे बोल्नुभएको थियो ।