टीकापुरका संघसंस्था र समाजसेवीको नियत

सम्पादकीय

टीकापुरमा भएका संघसंस्थाले जति फड्को मार्नुपर्ने थियो त्यति फड्को नमारेको हरेकले स्वीकार गर्ने गर्छन् । संस्थाको प्रगति भन्दा आपसमा बिबाद बढी हुँदै आएको छ । प्रजातन्त्र आएपछि टीकापुरमा पार्टीका नाममा अराजकता बढ्दै गयो । व्यक्ति खुसि पार्नेका चक्करमा मनपरी भयो । बीरेन्द्र बिद्या मन्दिर होस् या अन्य शैक्षिक संस्था हुन् अस्पताल होस् या टीकापुर उद्योग बाणिज्य संघको हालत सबै उस्तै छ । विकास भएको छ भनेर चित्त बुझाउनका लागि हो भने विकास क्रमशः भएकै देखिन्छ । आज बीरेन्द्र बिद्या मन्दिरको अवस्था कस्तो छ सबैलाई थाहा छ । सुदुरपश्चिमको टप बिद्यालय आज समस्यामा पर्न थालेको छ । बिद्यार्थी संख्या घट्दै जाँदा पारिश्रमिक खुवाउन समस्या छ । एकातिर बिद्यालयको अवस्था यस्तो छ अर्काेतर्फ बिद्यालय व्यबस्थापन समितिमा सदस्य हुन मारामार छ । बिद्यालय व्यबस्थापन समितिमा बस्नेहरुले पनि बुझ्न जरुरी छ की म व्यबस्थापन समितिमा गएभने यो यो कुरा सुधार गर्न सक्छु भनेर । त्यसै गरी दैनिक ६/७ सय बिरामी आउने टीकापुर अस्पतालका बारेमा यहाँका राजनीतिक दल गम्भिर छैनन् । यहाँको बुद्धिजीवि र राजनीतिक दल एक भएर अस्पतालको सेवा विस्तारका लागि पहल गर्नुपर्ने हो तर व्यबस्थापन समितिको जिम्मा जस्तो व्यबहार प्रदर्शन हुँदै आएको छ । उद्योग बाणिज्य संघले सबैको नेतृत्व लिन सक्थ्यो त्यो संस्थामा पनि महोत्सवमै अल्झिएको छ । यस बाहेक अन्य फुटकर संघसंस्थामा पनि एकता देखिदैन । बजेट भयो भने आपसमा मारामार हुने गरेको छ । उसो त खड्गबहादुर सिंहको निधनपछि टीकापुर विकास समितिमा राम्रो काम भएन । दिर्घकालिन सोच नराखेकै कारण जथाभावी जग्गा बिक्रि गर्ने काम भयो । एउटा व्यबस्थित सहरको कल्पना भएको ठाउँलाई अझ व्यबस्थित गर्नुपर्नेमा आफ्ना मान्छेलाई खुसि पार्न खोज्दा पछिल्लो समय सहर कुरुप बनाउने काम भयो । हवाई मैदानको छेउछाउको जग्गा बिक्रि गर्ने काम भए भने कतिपय खुला ठाउँ पनि बिक्रि गर्ने काम भयो । टीकापुर सुन्दर सहर हो तर यसको विकासका लागि ठोस योजना बनाउँनुभन्दा मनपरी विकास गर्न खोजियो । आएका जनप्रतिनीधि पनि टीकापुरको विकासका बारेमा खासै गम्भिर देखिएनन् । तसर्थ टीकापुरबासीले घरमै बसेर दुखेसो पोख्ने होइन । जनप्रतिनीधि छान्दा बिचार गर्नु पर्छ । स्थानीय तहमा राम्रो मान्छे आयो भने यहाँ भएका हरेक संघसंस्था पनि सुध्रन बाध्य हुन्छन् । समाजसेवाका नाममा संघसंस्थाबाट चिया नास्ताको जोहो गर्ने प्रबृत्ति अन्त गर्न जरुरी छ । समाजसेवा गर्छु भन्नेहरुले आफ्नो ठाउँको विकासका लागि निस्वार्थ काम गर्न जरुरी छ । काम गर्दा पारदर्शीता पहिलो शर्त हो तर संघ संस्थामा जानेहरुलाई पारदर्शीता भनेपछि ज्वरो आउँछ । टीकापुरबासी सचेत हुन जरुरी छ । हाम्रो सहर हामी आफैले बनाउने हो त्यसका लागि इमान्दार सामाजिक अगुवा रोजौ र जनप्रतिनीधि पनि असल रोजौ ।