टीकापुर, ६ असार/विश्व वातावरण दिवसको अवसर पारेर सिद्धार्थ बैंक लिमिटेडले बिहीबार विद्यालय परिसरमा वृक्षारोपण गरेको छ । बैंकको टीकापुर र लम्की शाखाको संयुक्त आयोजनामा वातावरण संरक्षण तथा हरियाली प्रवद्र्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो ।

सिद्धार्थ बैंक टीकापुर शाखाका प्रबन्धक प्रकाश तिवारीका अनुसार बिहीबार टीकापुर नगरपालिका–स्थित खड्ग स्मृति माध्यमिक विद्यालय तथा लम्की–चुहा नगरपालिका वडा नं. ५ स्थित राष्ट्रिय माध्यमिक विद्यालय को प्राङ्गणमा लिची, आँप र अम्बाका बिरुवा रोपिएको हो ।

वृक्षारोपण गरिएका बिरुवालाई छाडा पशुबाट संरक्षण गर्न ट्री–गार्डको व्यवस्था गर्नुका साथै बिरुवाको नियमित सिँचाइका लागि विद्यालयलाई वाटर स्प्रे (हजारी) समेत उपलब्ध गराइए को प्रबन्धक तिवारीले जानकारी दिनुभयो ।
उहाँले वृक्षारोपणले वातावरणीय सन्तुलन कायम गर्न, हरियाली विस्तार गर्न तथा आगामी पुस्ताका लागि स्वच्छ र सुरक्षित वातावरण निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने भएकाले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
सिद्धार्थ बैंकले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्व (CSR) लाई प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य र वातावरण संरक्षण लगायत विभिन्न सामाजिक क्षेत्रमा निरन्तर योगदान दिँदै आएको प्रबन्धक तिवारीले उल्लेख गर्नुभयो ।
कार्यक्रममा सम्बन्धित विद्यालय का शिक्षक–शिक्षिका तथा सिद्धार्थ बैंकका कर्मचारीहरूको सहभागिता रहेको थियो ।
विश्व वातावरण दिवस प्रत्येक वर्ष जुन ५ तारिखमा मनाइन्छ। वातावरण संरक्षण तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघको पहलमा सन् १९७३ देखि यो दिवस मनाउन थालिएको हो ।