टीकापुर, २२ असार/टीकापुर नगरपालिका वडा नम्बर १ को सार्वजनिक सुनुवाई भएको छ । वडाले आर्थिक वर्ष २०८२\०८३ मा गरेका कामकारवाही तथा सेवा प्रवाहका विषयमा सार्वजनिक सुनुवाई गरेको हो ।
सार्वजनिक सुनुवाईमा वडाले गरेका कामहरुका विषयमा वडा सचिव चक्रबहादुर रावल, सब–ओभरसियर गम्भीरसिंह साउँदले जानकारी गराउनुभयो । सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागिहरु ले वडामा ढल निकास, सडक मर्मत, सडक कालोपत्रे, सडक विस्तार गरिनु पर्ने माग तथा सुझावहरु बढी आएका थिए ।
ठूलो वडा भएकाले वडाको विभाजन गरिनुपर्ने, वडामा भौतिक विकास भन्दा सामाजिक विकासमा बढी ध्यान दिनु पर्ने सुझावहरु पनि आएका छन् । ब्लक नम्बर ३० का नृपबहादुर रावलले वडामा विकास गर्दा ध्यान दिनुपर्ने बताउनुभयो ।
सिर्जना शर्मा पण्डितले मुनुवा रोड र त्यसको उत्तरतिरको गुम्वा सम्मको सडकमा नगरपालिकाको नजर नपुगेको गुनासो गर्नुभयो ।
मोहन खनालले आफ्नो टोलमा सडक बनाउँदा अर्को स्थानमा बनाईएको, एयरपोर्ट नजिक रहेको कल्भर्ट अग्लो भएकाले दुर्घटना भैरहेको बताउनु भयो ।

धनसरा कुमारी उपाध्यायले जमरा कुलोको छेउछाउका जंगल क्षेत्रमा लागु औषध प्रयोगकर्ताले अखडा बनाइरहेकाले त्यसमा ध्यान दिन सुझाव दिनुभयो ।
पूर्व नगर प्रमुख तपेन्द्र बहादुर रावलले सार्वजनिक सुनुवाई सुशासनको एउटा पक्ष भएकाले यसको महत्व रहेको बताउनुभयो । आफ्नो पालामा पालिका भित्रका सबै वडामा सार्वजनिक सुनुवाई हुने गरेको तर अन्य वडाले सार्वजनिक सुनुवाई गर्न छोडे पनि वडा नम्बर एकले निरन्तर सार्वजनिक सुनुवाई गरिरहेकोमा धन्यावद दिनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका चक्रबहादुर वटाला, नेकपा एमाले का लक्ष्मण थापा, राप्रपाका डम्बर थापाले नागरिकका अपेक्षा अनुसार काम गर्न वडालाई सुझाव दिनुभयो । सार्वजनिक सुनुवाईमा ३१ जनाले आफ्ना धारणाहरु राख्नु भएको थियो ।
सहभागीहरुले राखेका जिज्ञासाहरु को जवाफ वडा अध्यक्ष मोहन विक लुहारले दिनु भएको थियो ।
सहभागीहरुले राखेका जिज्ञासाहरु को जवाफ वडा अध्यक्ष मोहन विक लुहारले दिनु भएको थियो । कार्यक्रम समापन गर्दै वडाध्यक्ष विकले कार्यक्रममा आयका सकारात्मक सुझावहरु लाई आत्मसात गर्दै आगामी दिनमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सामुदायिक रेडियो टीकापुर एफएमको सहजीकरणमा भएको कार्यक्रम सञ्चालन पत्रकार एकिन्द्र तिमिल्सिनाले गर्नुभएको थियो ।