टीकापुर क्षेत्रका लागि ऐतिहासिक अवसर , गोपाल अष्टोत्तरसत १०८ कुण्डिय विराट कोटीहोम महायज्ञको तयारी

टीकापुर,९ साउन/ ईश्वर प्रेमी सेवा आश्रम टीकापुरको आयोजनामा गोपाल अष्टोत्तरसत १०८ कुण्डिय विराट महायज्ञ कोटीहोम आयोजना हुने भएको छ । आगामी मङ्सिर १२ गतेदेखि सुरु हुने महायज्ञ मंसिर २२ गतेसम्म चल्नेछ । महायज्ञका बारेमा बिहिवार आश्रममा पत्रकारसंग छलफल र सुझाव संकलन गर्ने काम भएको छ ।
नेपालकै प्रथम गोपाल यज्ञ यस क्षेत्रमा धर्म, अर्थ, काम र मोक्षका लागि कुण्डीय महायज्ञ गर्न थालिएको ईश्वरप्रेमी सेवा आश्रमका पिठाधिस श्री चैतन्य जी महाराजले जानकारी गराउँनुभयो ।


१०८ कुण्डमा गोपाल अर्थात भगवान कृष्णकै नामबाट आहुती हुनेछ । सवा करोड माथि आहुती गरिने, यो कोटिहोममा ५ सय जोडीले कर्ताका रुपमा सहभागिता जनाउने अनुमान गरिएको छ । यो कोटीहोम महायज्ञमा १८ पुरायण, ४ बेदको पारायण हुनेछ । यज्ञ प्रकटका लागि पौराणिक हिसावले अग्नी प्रकट भएको ज्वालाक्षेत्रबाट अग्नी ल्याएर यज्ञ शुभारम्भ गरिने चैतन्य महाराजको भनाइ छ ।
उहाँका अनुसार यहाँ नेपालभरिका सन्त, आध्यात्मीक, जगतपुरु, शंकराचार्य र भारतका जगतगुरु समेत उपस्थिति हुनेछन् । १०८ ब्राह्रमण नियुक्ति गरिने, त्यसबाहेक अन्य ब्राहमण राखेर यज्ञ गरिनेछ । महायज्ञमा ११ हजार शालिग्राम एकसाथ राखेर पुजा गरिनेछ । यहाँ विवाह, ब्रतबन्ध तगायतका सबै धार्मिक अनुष्ठान समेत आयोजना हुनेछन् ।


चैतन्य महाराजले सेवा आश्रममा निर्माण भएको राधा गोपालको मन्दिरमा राधा गोबिन्द भगवानको मूर्ति प्राण प्रतिष्ठा हुने भएकाले यस महायज्ञलाई बिशेष कार्यक्रम गरी सम्पन्न गर्न सहयोग चाहिन्छ भन्नुभयो । “यस्तो महायज्ञ चाहेर पनि देख्न र सोच्न नसक्ने भएकाले यसको महत्व बुझेर कर्ता बन्न आग्रह गर्छु ”, चैतन्य महाराजले भन्नुभयो । उहाँले धर्मको बाटोबाट नै एकताको सुत्रमा बाध्छौ भन्नुभयो । “महायज्ञले यस क्षेत्रको भूमि सुद्धिकरण गर्नको साथै धार्मिक पर्यटकीय क्षेत्रका रुपमा पनि चिनाउँछ , ” महाराजले भननुभयो । मन्दिरमा मूर्ति स्थापना नभएसम्म अन्न ग्रहण नगर्ने भनी यसअघि शंकल्प लिनुभएको थियो । उहाँको शकल्पको एक वर्ष पुग्ने समयमा मंसिरमा राधा गोपालको मूर्ति प्रतिस्थापन समेत गरिने भएको छ । मूर्ति प्रतिस्थापनकै समयमा कोटीहोम समेत आयोजना गर्न थालिएको हो ।


ईश्वर प्रेमी सेवा आश्रमका महासचिव पुष्प बमले यो यज्ञले बिशाल हुने बताउँदै सबैको साथ र सहयोग भएमा सहजै गर्न सकिने बताउनुभयो । महायज्ञमा २ करोड खर्च हुने अनुमान गरिएको छ भने मन्दिरमा प्राण प्रतिष्ठा गर्न लागिएको मूर्ति पनि भव्य हुने बताइएको छ ।