टीकापुर गोल्डकपको तयारीका लागि खड्ग स्मृति रंगशालामा वृहत् सरसफाइ

टीकापुर, ७ भदौं/टीकापुर उद्योग वाणिज्य संघको आयोजना मा आगामी कार्तिक १२ देखि १९ गतेसम्म हुन लागेको टीकापुर गोल्डकपको तयारीका लागि खड्ग स्मृति रङ्गशालामा वृहत् सरसफाई गरिएको छ । टीकापुर नगरपालिका वडा नं. ५ पार्क रोडस्थित खड्ग स्मृति रङ्शालामा स्थानीयबासी,सुरक्षाकर्मी, खेलप्रेमी, समाजसेवीहरु को बाक्लो उपस्थितिमा रङ्गशाला मा सरसफाई गरिएको हो ।
फुटबल खेलका माध्यमबाट टीकापुरलाई चिनाउने अभियान स्वरुप संघको आव्हनमा भएको सरसफाई कार्यक्रममा सयौंको सहभागिता रहेको थियो ।
प्रथम टीकापुर गोल्डकपमा ए डिभिजन क्लबका विभिन्न टिम सहभागी हुनेछन् । भारतको कोलकातास्थित एक टिमले समेत प्रतियोगितामा सहभागी हुने बताइएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ७ लाख रुपैयाँ मात्र पुरस्कार पाउनेछन् भने द्वितीय हुने टिमले नगद ४ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
“टीकापुर चिनाउने अभियानः गोल्डकप बन्नेछ हाम्रो पहिचान” भन्ने नाराका साथ सम्पन्न हुने प्रथम टीकापुर गोल्ड कपले स्थानीय खेलाडीलाई अवसर प्रदान गर्नुका साथै टीकापुरको खेल पर्यटन र सामाजिक एकता लाई समेत प्रवद्र्धन गर्ने विश्वास लिइएको संघका अध्यक्ष सन्तोष खड्काले बताउनुभयो ।
उहाँल प्रतियोगिता सफल बनाउन सबै क्षेत्र, व्यवसायी, खेलप्रेमी तथा स्थानीयवासीलाई सहकार्य र सहयोगका लागि आह्वान समेत गर्नुभयो ।