टीकापुर, ७ भदौं/टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको १० औं वार्षिक साधारण सभा भएको छ । शनिबार भएको साधारण सभामा संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै खानेपानीका अध्यक्ष खडक धामीले अहिलेसम्म ४ ओटा ओभरहेड ट्याङ्कीबाट २९० किलोकमिटर पाइपलाइन बाट वडा नम्बर १ देखि ५ सम्म का ९ हजार ३१८ घरधुरी का करिब ५५ हजार जनसंख्यालाई २४ सै घण्टा पानी बितरण गरिरहेको जानकारी दिनुभयो ।
अध्यक्ष धामीले नगर विकास कोष र खानेपानी संस्था बिच भएको ऋण संम्झौता अनुसार साँवा व्याज, १ करोड, २५ लाख ६५ हजार ८०१ रुपैया तिनुपर्नेमा खानेपानीले २ करोड रुपैया तिर्न सफल भई ७४ लाख, ३४ हजार १९९ रुपैया साँवा घटाउन पनि सफल भएको सभा समक्षा जानकारी गराउनु भयो ।
गत आर्थिक वर्षमा प्रदेश सरकारबाट प्राप्त अनुदान र संस्थाको आन्तरिक आयबाट थप ११ किलोमटिर पाइपलाइन विस्तार गरी ६४७ घरधुरीमा धारा जडान पनि गरीएको अध्यक्ष धामीले बताउनु भयो ।
टीकापुरको वडा नम्बर ३ रामपुरमा निर्माणधिन खानेपानी संस्था र टीकापुर खानेपानी बिच सहमति भई रामपुर खानेपानीका बाँकी कामहरु दुबै खानेपानी संस्था मिलेर अगाडी बढाउने सहमति भएको बताउनुभयो ।

अध्यक्ष धामीले विकास निर्माण का काम गर्दा निर्माण व्यवसायीले खानेपानीको पाइपलाइन फुटाउने गरेकाले यसको मर्मत सम्भार गर्दा खानेपानीको समय र बजेट खर्च भैरहेकोले यो प्रमुख चुनौती का रुपमा भएको बताउनुभयो ।
साधारणसभामा गत आर्थिक वर्षको ४ करोड, ८६ लाख, ६ हजार ६६३ रुपैया बराबरको आयव्याय सार्वजनिक गरिएको थियो भने चालु आर्थिक वर्षको ५ करोड, ८५ लाख ५० हजार रुपैया बराबरको अनुमानित आयव्याय प्रस्तुत गरीएको छ ।
साधारसभाको उद्घाटन गर्दै नगर विकास कोषको खानेपानी तथा सरसफाई महाशाखाका प्रमुख शुभाषराज पन्तले खानेपानीको महशुल बढाउनु, पाइपलाईन र उपभोक्ता विस्तार गर्नु मात्र ठूलो कुरा नभई उनीहरु लाई निरन्तर स्वच्छ खानेपानी खुवाउने कुरामा ध्यान दिन सुझाव दिनुभयो ।
प्रमुख पन्तले टीकापुरमा खानेपानीको बिस्तारसंगै ढल निकासको पनि काम भैरहेकाले अवका दिनमा पनि यहाँका नागरिक तयार भएपछि नगर विकास कोषले १ अर्ब बराबरको ढल निर्माण गर्न तयार रहेको बताउँदै त्यसका लागि खानेपानी को कार्यसमिति काम गर्न तयार हुनुपर्ने बताउनुभयो ।
टीकापुर खानेपानीका संस्थापक अध्यक्ष नवराज रावलले नेपाल सरकारले निर्माण गर्न लागेको रामपुर खानेपानीलाई पनि टीकापुर खानेपानीले जोडेर काम गर्न लागेकोमा धन्यवाद दिँदै राम्रो काम गर्न सुझाव दिनुभयो ।
संस्थाका अध्यक्ष खडक धामी को अध्यक्षतमा भएको उद्घाटन कार्यक्रममा ईलाका प्रशासन कार्यालय प्रशासकिय अधिकृत सर्वानन्द चपाई, लम्की खानेपानीका अध्यक्ष मल्ल सिंह, टीकापुर खानेपानीका सल्लाहकार संयोजक भैरव सिंह रावल, नेपाली कांग्रेस का शुभनाथ देवकोटा, नेकपा एमालेका बलबहादुर विक, नेकपाका महेश बुढा, राप्रपाका डम्बर थापा, निवर्तमान कार्यवाहक अध्यक्ष सिर्जना शर्मा पण्डित लगाएतले शुभकामना मन्तव्य राख्नु भयो ।
शुभकामना मन्तव्य राख्ने व्यक्तिहरुले संस्थामा भएका कमीकमजोरीलाई बाहीर रोडमा छताछुल्ल नपारी संस्था भित्रै छलफलका माध्यामबाट समाधान गर्न सुझाव दिएका छन् ।
संस्थाका सचिव प्रकाश खड्काले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत उपाध्यक्ष सिता चौधरीले गर्नुभएको थियो ।
साधारण सभामा उत्कृष्ट कर्मचारीका रुपमा स्टोर किपर दर्शना शर्मालाई नगद सहित सम्मान गरिएको छ ।