टीकापुर,८ भदौं?विश्व बन्धुत्व दिवस तथा राजयोगिनी दादी प्रकाशमणिको १९ औंँ पुण्यतिथिमा रक्तदान कार्यक्रम भएको छ । टीकापुरस्थित ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयको आयोजनामा आयोजित रक्तदान कार्यक्रममा १५ पिन्ट रगत संकलन भएको छ ।
कैलालीको जोशीपुरका जञ्जिर प्रसाद चौधरीले अहिलेसम्म २० औं पटक रक्तदान गर्नुभयो । एक थोपा रगतको पनि महत्व हुन्छ भन्ने बुझेका चौधरीले नियमित रगत दान गरिरहनु भएको छ ।

इलाका प्रशासन कार्यालय टीकापुरका शाखा अधिकृत सर्वनन्द चपाइले मानव जीवन बचाउन रक्तदान महादान हुने भएकाले यसलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।
टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले अस्पतालमा दुर्घटना, शल्यक्रिया गर्नुपर्ने, सिकलसेलका बिरामी, एचआइभी संक्रमित, रक्तअल्पना भएका र सुत्केरीलाई रगत आवश्यक पर्ने भएकाले रक्तदान ठूलो दान हुने बताउनु भयो ।
उहाँले शरीरमा खेर जाने रगत अरुको जीवन बचाउने कार्यमा १८ वर्ष माथिका निरोगी मानिसले दान गर्नुपर्ने बताउनु भयो ।
टीकापुर नगरपालिकाका कार्यवहाक नगर प्रमुख रामबहादुर नगार्जी रगत अभावमा धेरैको ज्यान जानसक्ने भएकाले रक्तदान मा यस्ता संस्था र ब्यक्तिहरुले सहयोग गरिरहेको बताउनुभयो ।
ब्रह्मकुमारी सीता तिमिल्सिनाले राजयोगिनी दादी प्रकाशमणिको सम्झनामा देशैभरि रक्तदान कार्यक्रम आयोजना भएको बताउनुभयो । बह्रमकुमारीका नेपाल र भारतमा रहेका सबै शाखामा एकैपटक भदौँ ५ गतेदेखि ९ गतेसम्म रक्तदान कार्यक्रम भइरहेका छन् । आज सोमबार दुर्गौली मा पनि रक्तदान कार्यक्रम गरिदैछ ।