टीकापुर, १२ भदौं÷हिजो रसुवामा आएको बाढीपछि टीकापुरका २९ जना सम्पर्क बिहीन भएका छन् । टीकापुर नगरपालिकाको तथ्यांक अनुसार टीकापुर नगरपालिका वडा नम्बर १ का २३ जना, ५ का ५ जना र वडा नम्बर ७ का एक जना सम्पर्क बिहीन भएका छन् ।
अहिलेसम्म वडा नम्बर १ समितिपुरका तुलाराम चौधरी र दिलबहादुर चौधरी, शक्तिनगरका रमेश कुमार चौधरी, वडा नम्बर ९ का बालकृष्ण चौधरी र वडा नम्बर ४ का देशराम चौधरी गरी ५ जना व्यक्ति भने सम्पर्कमा रहेका छन् ।
यि ५ जना बाहेक अन्य २९ जनासंग बाढी आएपछि सम्पर्क बिहीन भएका खबर प्राप्त भएको टीकापुर नगरपालिकाका सूचना अधिकारी देविप्रसाद आचार्यले जानकारी दिनुभयो ।
यसैगरी जानकी गाउँपालिका का ६ जना व्यक्ति पनि बाढीपछि सम्पर्क बिहीन भएका जानकी गाउँपालिकाका वन बाताबरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख नेत्रप्रसाद जैशीले जानकारी दिनुभयो ।
सम्पर्क विहीनहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाइएको छ । रसुवाको भोटेकोसी क्षेत्रमा आएको बाढीपछि टीकापुर नगरपालिका वडा नं. ५ मनिकापुरका पाँच जना सम्पर्कविहीन भएका छन् ।

पहिलो पटक कामको सिलसिला मा रसुवाको धुन्चे हाइड्रोपावर क्षेत्रमा पुगेका उनीहरु त्यहाँ कार्यरत थिए । भदौ १० गते भोटेकोसी क्षेत्रमा आएको ठूलो बाढीपछि उनीहरूसँग सम्पर्क हुन नसकेको परिवारका सदस्यको भनाइ छ । चुन्की थारुका छोरा पूर्णबहादुर थारु बुवा शकुशल रहेको खबर सुन्नका लागि आफूहरु पर्खिरहेको बताउनुहुन्छ ।
सम्पर्कविहीन पाँचै जनाको अवस्थाबारे जानकारी नआएपछि परिवार तथा आफन्त चिन्तित बनेका छन् । उनीहरूको खोजी तथा अवस्थाबारे जानकारी लिन सम्बन्धित निकायसँग समन्वय भइरहेको तर फोन सम्पर्क तथा कुनै खालको खबर नआएको चन्द्रबहादुर थारुकी भतिजीले बताउनुभयो ।
अर्का सम्पर्कमा नआएका कमल बहादुर चौधरीका छोरा दोर्जे चौधरी आफ्ना बुवाहरु सुरुङमा थुनिएको खबर आएकाले आफूहरु उनीहरु सुरक्षित भेटिने आशामा रहेको बताउनुभयो ।
यहाँबाट काम गर्न गएका युवाहरु सम्पर्कविहीन भएपछि चिन्ता बढेको हो । उनीहरु मध्ये धेरै जना
जलविद्युत आयोजनाको सुरुङ मार्गमा काम गर्न गएका परिवारजनले बताएका छन् ।
सम्पर्क बिहीनहरु सुरुङमा फसेको खबर आएको छ । उनीहरुलाई कामको लागि त्यहाँ लैजाने समितिपुरका तुलाराम चौधरीले उनीहरु सुरुङमा फसेका र अहिलेसम्म जिवितै रहेको खबर आएको आज बिहान अपुष्ट जानकारी दिनुभएको छ । त्यस पछि तुलारामसंग पनि सम्पर्क हुन सकेको छैन ।