सम्पादकीय
टीकापुर नगरपालिकामा २०७९ सालमा निर्बाचित जनप्रतिनीधिहरुको रबैया सुरु देखि नै राम्रो थिएन । एक आपसमा नमिलेर नगरपालिकालाई ध्वस्त गर्ने काम भएको छ । शुरुमा प्रमुख र उपप्रमुख नमिलेर नगरपालिकामा समस्या भयो । प्रमुखले उपप्रमुखकै कारण काम गर्न नपाएको गुनासो गर्दै हिडे । उप प्रमुखलाई मुद्धा लागेपछि प्रमुखले एकल हिसावले काम गर्न थाले । उप प्रमुख नभएपछि प्रमुखले मनपरी काम गरे । जनताबाट निर्बाचित प्रमुखलाई कसले रोक्ने ? त्यही भएर त हवाई मैदान सञ्चालन देखि गुलावको सहर कार्यक्रम आए । त्यति मात्र होइन बत्ति जडानका नाममा भविष्यमा अन्यत्र बत्ति बाल्न डराउनुपर्ने गरी बत्तिको पोल गाडियो । शुरुका दिनमा नागरिकले नबुझेर खुबै प्रशंसा गरे । बत्ति आवश्यक हो तर जति बलियो त्यति होइन बरु बिस्तार गर्न जरुरी छ । ठोस योजना बनाएर हिड्नुको साटो प्रमुख स्वच्छेचारी भएर हिडे । यसरी प्रमुख स्वच्छेचारी भएर हिँड्दा एउटा वडाध्यक्षले प्रतिबाद गरेनन् बरु एकछिन घुक्र्याउने अनी बजेट हुन्छ की अन्य सुबिधा लिएर बस्थे । यसरी चल्दै आएको नगरपालिका कार्यबहाकका नाममा यतिखेर बिबाद मै छ । आफु बिबाद गर्ने दोष प्रमुख प्रशासकीय अधिकृतलाई दिएर खेदो खन्ने काम भयो । टीकापुर यस्तो ठाउँ हो भिडले भनेको कुरा पत्याउनुपर्छ । भिडले गर्ने निर्णय मान्नुपर्ने अवस्था बनाइएको छ । त्यही शैली नगरपालिकामा पनि देख्न पाइन्छ । कार्यबहाकको बहानामा बिगत ५ महिना देखि बिबाद देखाएर नगरपालिका ध्वस्त गर्ने काम भएको छ । यसरी काम नगरेपनि जनप्रतिनीधिले भत्ता र सुबिधा खान छाडेका छैनन् । आपसमा मिलेर समस्या हल गर्नुको साटो नयाँ प्रमुख प्रशासकीय अधिकृतले छलफल गरेपछि बिबाद साम्य भएको छ भनेर समाचार आयो । समस्या हल भयो भन्ने कुरा बाहिर आएपछि नगरबासी अब बाँकी समय राम्रोसंग बित्छ भन्नेमा थिए । शुक्रवार कार्यपालिकाका सदस्यहरु बीच टीकापुर उद्योग बाणिज्य संघमा छलफल भएको समाचार आयो । यो भन्दा लाजमर्दाे कुरा अरु के होला ? आफ्नो हैसियत थाहा नपाउने जनप्रतिनीधिहरुले चार बर्ष समय कसरी बिताएका रहेछन् भन्ने प्रष्ट बुझ्न सकिन्छ । जनताबाट निर्बाचित जनप्रतिनीधिहरु आफ्नो बिबादका बारेमा उद्योग बाणिज्य संघमा छलफल गर्न गए । जनताले निर्बाचित गरेका जनप्रतिनीधि आफैमा सार्बभौम छन् । उनीहरुले गरेको निर्णय जनताले मानेकै छन् तर आफ्नो बिबाद उद्योग बाणिज्यसंघ गएर हल होस् भन्न चाहन्छन् । कुनै कुराको पनि सीमा हुन्छ । अति गरे खति हुन्छ । जे गरेपनि हुन्छ भन्ने मानसिकता खराब हो । टीकापुरमा देखिएका समस्या हल गर्न अख्तियारी पाएका जनप्रतिनीधिहरुको यो चालाले हरेक सचेत नागरिकलाई निरास बनाएको हुनुपर्छ । तसर्थ समय थोरै छ यो थोरै समयमा पनि जनताको मन जित्ने काम गर्न सकिन्छ । बजेटको लुछाचुडी होला तर आम जनताले बुझ्ने गरी झगडा गरेर समय खेर फाल्नु अपराध हो । जनताले तिरेको करबाट भत्ता र सुबिधा खाने अनी आफ्नो इगो साँधेर नगरपालिकालाई बन्धक बनाउन पाइदैन । बिबाद गर्ने भत्ता खानेबेला खाइरहने , यस्ता जनप्रतिनीधिका बारेमा जनताले पनि निगरानी गर्न जरुरी छ । जनप्रतिनीधि छान्दा कठोर हुन जरुरी छ । भोट हाल्दा सक्षम व्यक्तिलाई भोट नहाल्ने हो भने टीकापुरबासीले यसैगरी दुख पाइरहने हो ।