विपद्को सामना सबै मिलेर गरौं

सम्पादकीय

भदौ १० गते रसुवामा आएको बाढीले मुलुक क्षत बिक्षत भएको छ । भुकम्प भन्दा डरलाग्दो अवस्था यस पटकको बाढीले देखाएको छ । बिहान पख भएकाले क्षति कम भयो । यदि घटना राती भएको भए कस्तो हुन्थ्यो होला ? बिहान हुँदा पनि करिब ८ सय शब भेटिएका छन् । कैयन अझै बेपत्ता छन् । यस्तो पीडामा हरेक नेपालीले सकारात्मक भावना देखाउन जरुरी छ । विपन्न नागरिकले सकारात्मक भावना देखाउने एउटा कुरा हो तर हुने खानेले मन खुल्ला गरेर सहयोग गर्ने समय हो । बिदेशमा बसेका नेपाली दाजुभाई दिदी बिहिनीले समेत आर्थिक सहयोग गरिरहेका छन् । हरेकले खर्च कटाएर सरकारको कोषमा रकम हाल्न थालेका छन् । नागरिकको तहबाट हुने सहयोग सरकारले पाएको छ तर स्थानीय र प्रदेश सरकारका जनप्रतिनीधि पनि गम्भिर हुन जरुरी छ । यो बर्ष अनावश्यक बजेट खर्च नगरेर राज्य कोषमा सहयोग गर्नुपर्छ । स्थानीय र प्रदेश सरकारले तालिम, गोष्टी लगायत अनावश्यक कार्यक्रम गर्नु हुँदैन । देशभरका पालिकाले फजुल खर्च बचाएर एक एक करोड सरकारलाई सहयोग गर्ने हो भने पनि धेरै हुन्छ । एउटा पालिकामा बर्षभरीमा एक करोड भन्दा बढी फजुल खर्च गर्दै आएका छन् । बिल र भपाईको भरमा हुने यस्ता अनावश्यक खर्च मानवीय भावनाले पनि जनप्रतिनीधिले रोक्न जरुरी छ । खर्च कटौती किन गर्ने भन्ने सोच भएका जनप्रतिनीधि पनि हुन सक्छन् । बाढी ग्रस्त क्षेत्रका जनता समस्यामा परेका छन् । उनीहरुका परिवार बेपत्ता र मृत्युको मुखमा परेका छन् त्यसैमा बास उडाएको छ । हुँदा खाँदाको परिवार छिन भरमै क्षतबिक्षत भएको अवस्था छ । उनीहरुको दर्दनाक रिलहरु सामाजिक सञ्जालमा देखिन थालेका छन् । यी रिलहरु हेर्ने हो भने त्यहा भयाबह अवस्था थियो भनेर सहजै बुझ्न सकिन्छ । तसर्थ यस पटक स्थानीय र प्रदेश सरकारका जनप्रतिनीधि गम्भिर हुन जरुरी छ । जनताले चुनेर पठाएका जनप्रतिनीधिले जनताको भावना बुझेर काम गर्नुपर्छ । स्थानीय राजनीतिक दलहरुले पनि स्थानीय सरकारलाई फजुल खर्च रोक्न दबाब दिनुपर्छ । यतिबेला सबैले आ आफ्नो कर्तव्य निभाउने हो भने मात्र देशको अवस्था सहज बनाउन सकिन्छ । सरकारको मात्र जिम्मा हो भन्ने सोचबाट अलग भएर नागरिकको कर्तव्य निभाउन सबै अग्रसर हुन जरुरी छ ।