टीकापुर, १८ भदौं/टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ममता बास्तोलाले पालिकाको विकास, सुशासन र समृद्धिका लागि प्रतिबद्ध भएर काम गर्ने बताउनुभएको छ । बुधबार टीकापुरस्थित पत्रकारहरु सँग आयोजित परिचयात्मक कार्यक्रम मा प्रशासकीय अधिकृत बास्तोला ले सो कुरा बताउनु भएको हो ।
दुई साताअघि सरुवा भएर नगरपालिकामा आउनुभएकी बास्तोलाले कानुनतः नगरबासी को हित, विकास, सुशासन, समृद्धि र पारदर्शिता नै आफ्नो प्रमुख उद्देश्य रहेको बताउनुभयो ।

‘मन्त्रालयले सरुवा गरेपछि म यहाँ हाजिर भएको हुँ’ प्रमुख प्रशासकीय अधिकृत बास्तोलाले भन्नुभयो, ‘पालिकाको जिम्मेवारी मा जति दिन बस्छु, पालिकाको विकास, सुशासन र समृद्धिका लागि काम गर्नेछु, तर कानुन भन्दा बाहिर जाने छुट मलाई पनि छैन ।’
उहाँले पत्रकारहरुसँग छलफल गर्दै पालिकाले गरिरहेका काम, कारवाहीहरु सहज रुपमा नागरिक सम्म पुर्याईदिन आग्रह गर्नुभयो । ‘कतिपय राम्रा कामहरु पनि भएका छन्, तर ती जनतासम्म पुग्न सकेका छैनन्’ उहाँले भन्नुभयो, ‘यहाँहरुबाट मैले पालिकाका कामहरु, सूचनाहरु नगरबासी सम्म सहज रुपमा जाउन् भन्ने अपेक्षा गरेको छु ।’
सहभागी पत्रकारहरुले पालिकाले सही सूचना समयमा उपलब्ध गराउन र नागरिकस्तरका सुझावहरु लाई व्यवहारमा लागु गर्न आग्रह गरेका थिए । पालिकाको लोककल्याणकारी विज्ञापनलाई प्रभावकारी बनाउन, सूचना प्रवाह सहज बनाउन र पालिकाको हितमा तटस्थ भएर काम गर्न पत्रकारहरुले सुझाव दिएका थिए ।
कार्यक्रममा टीकापुरस्थित विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।