काठमाडौं, २८ भदौं/गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्ला का विशेषगरी ग्रामीण समुदायमा गम्भीर क्षति पु¥याएको छ ।
संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) का अनुसार बाढीले करिब एक हजार ८०० हेक्टर कृषियोग्य जमिन (विशेषगरी धानबाली) नष्ट गरेको छ भने हजारौँ पशुपन्छी मरेका छन् ।
एफएओकी उपमहानिर्देशक बेथ बेचडोलले बाढीले किसान र पशुपालकहरूमा पारेको प्रभाव, तत्काल आवश्यक कृषि सहायता र आगामी खेतीको यामअगावै उत्पादन पुनस्र्थापना गर्नुपर्ने आवश्यकताका विषयमा आफ्नो धारणा व्यक्त गर्नुभएको हो ।

एफएओको प्रारम्भिक मूल्याङ्कन अनुसार कृषियोग्य जमिन, माछापोखरी, खाद्य भण्डार तथा कृषि पूर्वाधारमा पुगेको क्षतिले प्रभावित क्षेत्रका किसान परिवारको खाद्य सुरक्षा र आम्दानीमा दीर्घकालीन असर पर्ने चिन्ता बढाएको छ ।
बाढीपश्चात् नेपाल सरकारले गरिरहेको राहत तथा उद्धार कार्यमा सहयोग गर्दै एफएओले आपत्कालीन पशु स्वास्थ्य सेवा सञ्चालन तथा कृषि र ग्रामीण जीविकोपार्जनमा परेको क्षतिको मूल्याङ्कनलगायतका कार्य अघि बढाइरहेको छ ।
एफएओकी उपमहानिर्देशक बेथले हालैको बाढीले मानवीय रूपमा अत्यन्त पीडादायी क्षति पु¥याएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘एक हजारभन्दा बढी मानिसले ज्यान गुमाएका छन्, हजारौँ अझै बेपत्ता छन् र सम्पूर्ण समुदाय नराम्ररी प्रभावित भएका छन् ।’
बाढीले घर र भौतिक संरचना मात्र नष्ट नगरी धेरै परिवारको खाद्य उत्पादन र आम्दानीको मुख्य स्रोतसमेत समाप्त गरिदिएको उहाँले उल्लेख गर्नुभयो । खेतहरू माटो र गेग्रानले पुरिएका छन्, माछापोखरी बगेका छन् । सडक, पुल तथा बजारमा क्षति पुगेका कारण खाद्यान्न, पशु आहारा, दूध तथा कृषि सामग्रीको आपूर्ति पूर्ण रूपमा अवरुद्ध भएको उहाँले बताउनुभयो ।
एफएओको प्रारम्भिक मूल्याङ्कन अनुसार करिब एक हजार ८०० हेक्टर खेतीयोग्य जमिनमा क्षति पुगेको छ, जसबाट झन्डै सात हजार ७०० मेट्रिक टन कृषि उत्पादन गुम्ने अनुमान छ । किसान परिवारका लागि यसले वर्तमान बाली मात्र गुमाएको होइन,
आगामी उत्पादन र आम्दानीका अवसरसमेत सङ्कटमा पारेको एफएओले जनाएको छ ।
प्रभावित क्षेत्र नेपालका महत्त्वपूर्ण पशुपालन केन्द्रमध्ये एक हो । प्रभावित ११ वटा पालिका मा बाढीअघि करिब तीन लाख ५० हजार गाईभैँसी, भेडा र बाख्रा तथा १६ लाखभन्दा बढी कुखुरा थिए ।
उपमहानिर्देशक बेथका अनुसार हजारौँ पशुपन्छी हराएका वा मरेका छन् भने समग्र पशुधन र कुखुराको सङ्ख्यामा ५ देखि १० प्रतिशतसम्म पूर्ण रूपमा क्षति भएको हुन सक्ने अनुमान गरिएको छ ।
‘किसान परिवारका लागि एउटा पशु गुमाउनु भनेको तत्कालको खाद्य स्रोत गुमाउनु मात्र होइन, भविष्यको आम्दानी र उत्पादन को आधार पनि गुमाउनु हो,’ उहाँले भन्नुभयो ।
हाल प्रभावित किसानलाई तत्काल बीउबिजन आवश्यक रहेको एफएओले जनाएको छ । पशुधनका लागि पशु आहारा र पशु स्वास्थ्य सेवा पनि उत्तिकै महत्त्वपूर्ण रहेको भन्दै उहाँले बाढीपछि पशुमा रोग फैलिने जोखिम उच्च हुने भएकाले खोप, उपचार र रोग निगरानीमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
एफएओले नेपाल सरकारसँग मिलेर बाली, पशुधन, मत्स्य क्षेत्र, कृषियोग्य जमिन तथा कृषि पूर्वाधारमा पुगेको वास्तविक क्षतिको विस्तृत अध्ययन गरिरहेको छ । यसका लागि स्थलगत अवलोकनका साथै उपग्रह तथा ‘रिमोट सेन्सिङ’ प्रविधिको समेत प्रयोग गरिँदै छ ।