टीकापुर, ५ असोज÷रसुवा स्थित जलविद्युत आयोजना मा श्रम गर्न गएका कैलाली र बर्दिया का नागरिकको पारिश्रमिक वितरण गरिएको छ । कैलाली र बर्दियाका ४७ जनाको पारिश्रमिक उनीहरुलाई काममा लैजाने तुलाराम चौधरीले वितरण गर्नुभएको हो । रकम पाउनेमा १४ जना बाढीग्रस्त क्षेत्रबाट फर्केर आएका कामदार छन् भने ३३ जना बेपत्ता छन् । वेपत्ता भएकामा टीकापुरमा २५, जानकीका ४ र बर्दियाको गेरुवा गाउँपालिकाका ४ जना छन् ।
रसुवाका सुरुङमा काम गरेका टीकापुरका नागरिकको पारिश्रमिक वितरण गरिएको छ । रसुवाको भोटेकोशी बाढीपछि टीकापुर, जानकी र बर्दियामा केही नागरिक घर फर्किएका र केही अझैँ बेपत्ता रहेकाले उनीहरुको पारिश्रमिक यहाँबाट उनीहरुलाई काममा लैजाने ठेकेदार तुलाराम चौधरीले कम्पनीबाट बुझेर ल्याएर टीकापुर वडा नं. १ का वडाध्यक्ष मोहन विकको रोहबरमा पीडितका परिवारलाई बुझाउनुभएको छ । तुलारामले टीकापुर र बर्दियाका ४७ जना कामदारको पारिश्रमिक १८ लाख ७६ हजार ५ सय ७३ रुपैया आफ्नो खातामा कम्पनीले जम्मा गरिदिएको, थोरै काम गरेकालाई पनि महिनाभरिकै पारिश्रमिक दिएकाले बुझाउन थालेको बताउनुभयो ।
कम्पनीले कामदारको पूरानो पारिश्रमिक र भदौँ महिनाको १० गतेसम्म मात्रै काम गरेको भए पनि पुरै महिनाको पारिश्रमिक पठाएको छ ।

टीकापुर नगरपालिका वडा नं. का वडाध्यक्ष मोहन विकले अहिले कामदारको पारिश्रमिक मात्र उपलब्ध भएको, बाढीमा हराएकाहरु को खोजी कार्य अझैँ जारी रहेकाले सास या लाशको खोजी भइरहेको, राहत तथा क्षतिपूर्तिको पक्रिया सरकारले थाल्ने बताउनुभयो ।
वडाध्यक्ष विकले यो विपत्तीको समयमा आफू सम्हालिन र परिवारलाई सम्हाल्न अनुरोध गर्दै स्थानीय सरकार आफ्ना नागरिकको पीडामा साथमा रहेको बताउनु भयो ।
बाढीपछि टीकापुर नगरपालिका का २५ र जानकी गाउँपालिकाका ४ जना अझैँ सम्पर्क विहीन छन् ।
बाढी पीडितलाई ८० हजार एक सय सहयोग
टीकापुर नगरपालिका वडा नं. ४ टोल विकास संस्था वडा सञ्जाल भोटेकोसी बाढीबाट बेपत्ता भएकाका परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
वडा सञ्जालका अध्यक्ष गीता कुँवरको संयोजकत्वमा भएको राहत संकलनबाट ८० हजार एक सय ६१ रुपैयाँ बाढीबाट बेपत्ता भएकाको परिवारलाई सहयोग गरिएको हो ।
टीकापुर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष लालबीर चौधरी मार्फत टीकापुर नगरपालिका वडा नं. १ समितीपुरका बडघर अखिल थारुलाई हस्तान्तरण गरिएको छ । सो रकम नगरपालिका भित्रका रसुवा बाढीमा बेपत्ता भएका २५ परिवारलाई दामासाहीका हिसाबले वितरण गरिएको वडाध्यक्ष चौधरीले बताउनुभयो ।
उहाँले विपत्तिको समयमा वडा सञ्जालले गरेको सहयोग निकै महत्वपूर्ण भएको बताउँदै स्थानीय सरकारले पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । वडा अध्यक्ष चौधरीका अनुसार वडाका १५ टोल विकास संस्थाबाट संकलन भएको रकम हस्तान्तरण गरिएको हो ।
थारु व्यापार संघद्धारा राहात बितरण
थारु व्यापार संघ टीकापुरले रसुवा बाढी प्रभावितका परिवारलाई राहात बितरण गरेको छ । टीकापुर नगरपालिका वडा नम्बर १ का २० जनाका परिवारलाई ३० हजार राहात बितरण गरेको हो । रसुवामा काम गर्न गएका अहिलेसम्म सम्पर्कमा नआएका २० जनाका परिवारलाई जनही एक हजार ५ सयका दरले राहात बितरण गरिएको थारु व्यापार संघ टीकापुरका अध्यक्ष गोपाल चौधरीले जानकारी दिनुभयो । घरका कमाउने मान्छे सम्पर्क बिहीन भएपछि उनीहरुलाई थोरै मात्रामा भए पनि राहात पुगोस् भनि केही व्यापारीहरुबाट रकम संकलन गरेर राहात बितरण गरिएको र आगामी दिनमा पनि सहयोग रहने अध्यक्ष चौधरीले बताउनु भयो ।