टीकापुर, १५ कात्तिक/राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख प्रकाशदत्त भट्टले राष्ट्रिय समृद्धि हासिल गर्न संवैधानिक अधिकारहरुको ग्यारेन्टी गर्नुपर्ने र नागरिकहरु जिम्मेवार हुनुपर्ने बताउनु भएको छ ।
मानव अधिकार अनुगमनका क्रममा टीकापुर पुग्नु भएका भट्टले पत्रकारहरुसँग कुरा गर्दै समृद्ध राज्य र नागरिक बनाउने नारा सबैको भएपनि राज्यका संयन्त्रले सबै काम नागरिकले गरिदियोस भन्ने सोच्ने र नागरिकले सबै काम राज्यले गरिदियोस भन्ने अपेक्षा गरिरहेको अवस्था रहेको बताउनुभएको छ । दुबै पक्षले आफ्नो दायित्व पूरा गरे समृद्ध राज्यको लक्ष्य पूरा हुने भटटको विश्वास छ ।

भट्टले हरेक स्थानीय तहमा मानव अधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयन गर्न मानव अधिकारको संयन्त्र बनाउनुपर्ने प्रावधान भएपनि कतिपय ठाउँमा बेवास्ता गरिएकोले यस विषयमा समाचार सम्प्रेसण गरिदिन संचारकर्मीहरु लाई अनुरोध गर्नुभयो ।

प्रमुख भट्टले आयोगले मानव अधिकार उलंघनको विषयमा समाचारको आधारमा पनि काम गरिरहेकोले पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
टीकापुरका पत्रकारहरुले शिक्षा, स्वास्थ्य। कृषि, विकासका क्षेत्रमा भैरहेका समस्या, ढिलासुस्तीका विषयमा आयोगको ध्यानाकर्षण हुनुपर्ने र सरकारलाई निर्देशन हुनुपर्ने सुझाव दिएका छन् ।
आयोगको टोलीले इलाका प्रहरी कार्यालय टीकापुर, टीकापुर अस्पताल लगायतको अनुगमन गरेको छ ।