साहित्यकार अशोक बोहरा ‘असिम’ को नाटक संग्रह ‘भूतको डर’ विमोचन

टीकापुर, १५ कात्तिक/साहित्यकार अशोक बोहरा ‘असिम’ को नाटक संग्रह ‘भूतको डर’ विमोचन गरिएको छ । बोहराको पाँचौं कृतिका रूपमा नाटक संग्रह ‘भूतको डर’ विमोचन गरिएको हो । नाटक संग्रहमा मूल नाटक १० वटा र ८० पृष्ठको  छ ।
कृतिमा गलत बाटोमा लागेको युवा सही बाटोमा लागेको, बाल मनोविज्ञानको असर, विद्यालयमा शिक्षकसँगको छलफल, समाज, जनप्रतिनिधिको भूमिका लगायत का प्रसङ्ग देखाइएको छ । नाटकले समाजको चित्रण गरेको कृतिको समीक्षा गर्दै प्राज्ञिक समाजका अध्यक्ष खगेन्द्रप्रसाद उपाध्यायले बताउनुभयो ।
कृतिमाथि समिक्षा गर्दै डाक्टर चक्रप्रसाद अधिकारीले बोहराका नाटक संग्रहमा बाल मनोविज्ञान र शिक्षासँग सम्बन्धित कुराहरू धेरै उठेका बताउनुभयो ।
 बाल्यकालदेखि नै साहित्य लेखनमा लाग्नुभएका बोहोराका यसअघि संयोग वियोग नामक लघुकाव्य, आकांक्षाका तस्वीरहरू मुक्तक संग्रह, बाँसुरीका धुनहरू गजल संग्रह, फुलको पीडा कविता संग्रह प्रकाशित भइसकेका कृर्ति हुन् । यसका साथै सयौं रचनाहरू फुटकर रूपमा देश तथा विदेश बाट निस्कने विभिन्न साहित्यिक पत्रिकाहरू र अन्य पत्रपत्रिकाहरू मा प्रकाशित छन् । लामो समय टिकापुरमा बसेर शिक्षण पेशामा संलग्न रहनुभएका बोहरा यतिबेला रोजगारीको सिलसिलामा इजराइलमा कार्यरत हुनुहुन्छ । नेपाल फर्केका बेला उहाँले आफ्नो पाँचौं नाटक संग्रह भूतको डर प्रकाशनमा ल्याउनुभएको हो ।
कृतिकार अशोक बोहरा असिमले आफू कक्षा ७ मा पढ्दादेखि नै नाटक लेख्न थालेको बताउँदै आफूले लेखेका धेरै नाटक धेरै ठाउँमा प्रदर्शन गरेको स्मरण गर्नुभयो । गजल कविता लेख्ने साहित्यकार धेरै भए पनि नाटक लेख्ने साहित्यकार निकै कम भएकाले कृतिका रुपमा पहिलो पटक ल्याउने प्रयास गरेको बताउनु     भयो ।
कार्यक्रममा टीकापुर बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख डा.धनकृष्ण उपाध्यायले असिमको भूतको डर प्रकाशित संग्रहले समाजका विविध पक्षलाई उजागर गरेको बताउनु भयो । उहाँले बाल एकांग्री संग्रहका रुपमा समाजमा नव युवालाई कसरी सही बाटोमा लगाउने भनी नाटकमार्फत सन्देश दिन खोज्नुभएको बताउनुभयो । उहाँले नाटक प्रकाशित घटेका बेला बोहराको प्रयासले निरन्तरता पाउने आशा गर्नुभयो ।
कार्यक्रममा टीकापुर बहुमुखी क्याम्पसका पूर्व प्राचार्य प्राध्यापक डाक्टर जगतबहादुर सिंह रावलले नाटकका आधारमा नागरिक सचेत गराउन सकिने, नाटक लेख्ने क्रम घटेकाले टीकापुरकै युवाले नाटक संग्रहलाई प्रकाशन मा ल्याउनु खुशीको कुरा भएको बताउनुभयो ।
साहित्य कला परिवार टीकापुर कैलालीको आयोजनामा भएको कार्यक्रम संस्थाका अध्यक्ष बलबहादुर रावलको अध्यक्षतामा भएको थियो । उपाध्यक्ष कण्ठराज गिरी ले स्वागत गर्नुभएको कार्यक्रम सञ्चालन कान्तिप्रसाद गेवालीले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न व्यक्तिहरू ले रचना बाचन गर्नुभएको थियो ।
कार्यक्रममा बौद्धिक व्यक्तित्व टिकाराम जोशी, भोजराज ओझा, कैलाश नगार्जी, मिनबहादुर थापा मिलन, बालकृष्ण खनाल, हेमाङ्ग राज गिरी, शुभनाथ देवकोटा लगायतले शुभकामना व्यक्त  गर्नुभएको थियो ।