तीन महिनामा करिब साढे चार अर्बको धान चामल आयो

सम्पादकीय

नेपाल कृषि प्रधान देश भनिएपनि धान र चामलमा परनिर्भरता बढ्दै गएको छ । बर्षेनी धान र चामल बिदेशबाट आयात गर्नुपर्ने बाध्यता छ । यस आर्थिक बर्षको तीन महिनामा ४ अर्ब ४८ करोड ८३ लाख ६१ हजार रुपैयाको धान चामल नेपाल भित्रिएको छ । बासमति र ब्राउन राइसमा बढी पैसा बिदेश गएको छ । कच्चा धान पनि उत्तिकै आएको छ । नेपालले आफुलाई आवश्यक पर्ने चामल उत्पादन गर्ने हो भने मात्र पनि अर्बाै रुपैया बिदेश जानबाट जोगिन्छ । धान र चामल बिशेष गरी भारतबाट आउने गरेको छ । भारतले आफ्नो उत्पादन बढी भयो भने मात्र अन्यत्र बिक्री गर्न दिन्छ । आफ्नो देशलाई अपुग हुने भएपछि भारतले धान र चामल निर्यात रोक्ने गरेको छ । यसरी भारतको भरमा पर्दा नेपालीले चर्काे मुल्यमा चामल प्रयोग गर्न बाध्य छन् । नेपालका किसानले मुल्य नपाएको गुनासो छ भने अर्काे तर्फ धान र चामल भारतबाट ल्याउनुपर्ने बाध्यता छ । यो बाध्यता हटाउन सरकारले करोठ कदम चाल्न जरुरी छ । धान खेति गर्न सरकारले प्रोत्साहन गर्न जरुरी छ । आम किसानलाई धान लगायत अन्य वाली उत्पादनमा सहयोग गर्न जरुरी छ । आफ्नो देशको उत्पादन भयो भने अर्काको भर पर्नुपर्दैन । धान उत्पादन बढाउँदा मात्र पनि देशको आर्थिक विकास हुन्छ । धान खेति गर्नेबेला मल र बीउको अभाव हुन्छ । कहिले अतिबृष्टि र कहिले अनाबृष्टिले धानखेतिलाई ठूलो प्रभाव पारेको छ । कृषि उपकरणमा राज्यले उदार मन बनाउन जरुरी छ । किसानलाई आवश्यक पर्ने कृषि औजार निशुल्क रुपमा भित्राउन पाउनुपर्छ । किसानले सहज रुपमा उपकरण , मल र बीउ पाउने हो भने धान उत्पादन बढाउन सकिन्छ । तसर्थ सरकारले धान चामल भारतबाट ल्याउनु भन्दा आफ्ना किसानलाई प्रोत्साहन गर्न जरुरी छ ।