इनम र नेपालको राजनीति

सम्पादकीय

नयाँ सरकार आएपछि बिचौलीयाहरुको बिचल्ली भएको छ । विगतमा सरकार बिचौलीयाले चलाउँछन् भन्ने आवाज आउने गथ्र्याे तर खासै बिश्वास लाग्दैन थियो । बिगतका सरकारमा ठूला व्यापारी घरानाका मान्छेहरु नै राज्य लुट्नमा लागेका छन् भनेर दुर्गा प्रसाईले भन्दै आएका थिए । बिचौलीयाको नाममा दिपक भट्ट यतिखेर प्रहरी नियन्त्रणमा छन् । केही दिन यता इनम सापकोटाको नाम व्यापक आइरहेको छ । इनमका बारेमा नानाथरी कुरा सामाजिक सञ्जालमा आइरहेका छन् । इनमलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । आधिकारीक कुरा त केही आएको छैन तर समाचारमा र सामाजिक सञ्जालमा आएका कुराले यतिखेर नेपालको राजनीति तताएको छ । इनम ठूला बिचौलीया हुन् भन्ने कुरा बाहिर आएको छ । करिब ३१ बर्षे झापाली युवाको बारेमा जसरी बजारमा कुरा आएको छ यसले नेपालको राजनीतिलाई छरपस्ट पारेको छ । नेपालको राज्य सत्ता र सबैधानिक संस्थाका मान्छेको बारेमा डरलाग्दो अवस्था छ । अदालतका बारेमा नानाथरी गुनासो आइरहेका बेला इनमको न्यायाधीससंगको सेटिङका बारेमा आएको समाचारले पुरै नेपाली समाज स्तव्ध मात्र भएको छैन बिगतमा हुने गरेका शंका उपशंकालाई प्रष्ट बनाएको छ । यसरी देशमा बिचौलीयाले अदालतमा समेत प्रत्यक्ष प्रभाव पार्ने काम गर्दा रहेछन् भनेर जनताले प्रष्ट बुझ्ने मौका पाएका छन् । यति मात्र होइन इनमले कतिका भेद खोल्छन् र कसको कसको मुकुण्डो उतार्छन् भन्ने जिज्ञासा बढ्न थालेको छ । देशमा आर्थिक अराजकता बढ्दै जाँदा अदालत देखि हरेक निकाय भ्रष्ट हुँदै गए । बिचौलीया प्रधानमन्त्रीको बेडसम्म पुग्छन् भन्ने     गरिन्थ्यो । बिचौलीयाका पछि लागेर निर्णय गर्दै जाँदा सरकारले काम गर्न सकेनन् भने अदालतको साख पुरै गुमेको अवस्था छ । तसर्थ इनम हुन् या दिपक भट्ट यिनीहरुको जालो कहाँसम्म पुगेको छ ती सबैलाई कानूनको दायारामा ल्याएर कारबाही गर्नुपर्छ । वर्तमान सरकारले बिचौलीयाको उठिबास लगाउने निश्चित छ । यदि वर्तमान सरकारले पनि बिचौलीका बारेमा अलिकति पनि नरम पन देखायो भने देशले दुख पाउँछ । जनता पनि सचेत भएर अहिलेको अवस्थाका बारेमा लाग्नुपर्छ ।