टीकापुर, २४ फागुन/ प्रतिनिधि सभा कैलाली क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कोमल ज्ञवाली विजयी हुनुभएको छ । ज्ञवालीले १७ हजार ८२६ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
ज्ञवालीका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जनकराज चौधरीले १२ हजार ९४५ मत प्राप्त गर्नुभएको छ । २०७० सालमा संविधान सभाको सदस्य निर्वाचित हुनुभएका चौधरी सङ्घीय मामिला तथा सामान्य प्रशासन राज्यमन्त्री पनि बन्नुभएको थियो । उहाँ हाल नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति सभापति हुनुहुन्छ ।
टीकापुर नगरपालिकाको नगर प्रमुखको पदबाट राजीनामा दिएर नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बन्नुभएका रामलाल डगौराले आठ हजार ३९२ मत पाउनुभएको छ । नेकपा एमाले का उम्मेदवार द्वारिकाप्रसाद न्यौपानेले चार हजार ४९३ मत पाउनुभएको छ ।

राष्ट्रिय योजना आयोग को सदस्य समेत रहि सक्नु भएका प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार डा.जनकराज शाहले २१७ मत पाउनु भएको छ । यहाँ ५९ हजार ६१ मत खसेको थियो ।
तत्कालिन नागरिक उन्मुक्ति पार्टीका संस्थापक केन्द्रीय कोषाध्यक्ष ज्ञवाली निर्वाचन अघिमात्रै रास्वपा प्रवेश गर्नुभएको हो । व्यवस्थापन विषयमा स्नातक ४७ वर्षीया ज्ञवाली व्यापारमा संलग्न हुनु हुन्छ ।