सन्त निरंकारी मण्डल नेपालको ३७ औं वार्षिक साधारण सभा सम्पन्न

टीकापुर, ५ असोज/कैलाली को बर्दगोरिया गाउँपालिका–२, सडकपुर बौनियामा सन्त निरंकारी मण्डल नेपालको ३७ औँ वार्षिक साधारण सभा भएको छ ।
सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय अध्यक्ष नरबहादुर रावल को अध्यक्षतामा भएको कार्यक्रम मा बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवर प्रमुख अतिथि रूपमा रहनुभएको  थियो । कार्यक्रममा बर्दगोरिया गाउँपालिका–२ का वडाध्यक्ष गोविन्द बिक, वडा नम्बर १ का वडाध्यक्ष मिथुन गौतम, सशस्त्र प्रहरी बल झकडपुरका डीएसपी विश्वनाथ पोखरेल लगायतको उपस्थिति थियो ।
कार्यक्रममा सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सचिव अनिल महर्जनले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । केन्द्रीय कोषाध्यक्ष कृष्ण कन्हैया पाठकले आर्थिक प्रतिवेदन तथा आगामी आर्थिक वर्षको अनुमानित बजेट प्रस्तुत गर्नुभएको थियो । केन्द्रीय सदस्य देवराज रिमालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन केन्द्रीय सहसचिव नरबहादुर विश्वकर्माले गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कुँवरले बर्दगोरिया गाउँपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानी तथा पूर्वाधार विकास लाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ । स्थानीय नागरिकको आर्थिक अवस्था कमजोर रहेकाले शिक्षामा पहुँच सहज बनाउन गाउँपालिकाले कक्षा १ देखि १२ सम्मको शिक्षा निःशुल्क गरेको उहाँले बताउनु भएको छ ।
गाउँपालिकाका सबै वडामा खानेपानीका योजना तीव्र गतिमा अघि बढिरहेको जानकारी दिँदै अध्यक्ष कुँवरले वडा नम्बर ३ मा खानेपानीको काम सम्पन्न भई नागरिकले खानेपानी उपभोग गरिरहेका बताउनुभएको छ । गाउँपालिकाले सबै वडामा एक वर्षसम्म निःशुल्क खानेपानी उपलब्ध गराउने व्यवस्था गरेको उहाँको भनाइ थियो । स्वास्थ्य बीमा लगायतका सेवा प्रभावकारी रूपमा सञ्चालन भइरहेको बताउँदै उहाँले स्थानीय नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन गाउँपालिकाले काम गरिरहेको जानकारी दिनु भएको छ ।
बर्दगोरियामा क्याम्पस स्थापना भइसकेको र त्यसको सञ्चालन तथा व्यवस्थापनका लागि स्थानीय सरकारबाट आवश्यक सहयोग गर्दै आएको अध्यक्ष कुँवरले बताउनुभएको छ । स्थानीय स्तरमै उच्च शिक्षा हासिल गर्ने वातावरण बनाउन क्याम्पसलाई आवश्यक सहयोग निरन्तर उपलब्ध गराउँदै आएको उहाँले जानकारी दिनुभएको छ ।
सभामा प्रस्तुत वार्षिक प्रतिवेदन अनुसार सन्त निरंकारी मिसन नेपालका गतिविधि हाल ३९ जिल्लामा सञ्चालनमा रहेका  छन् ।
मण्डलले आध्यात्मिक गतिविधि सँगै रक्तदान,सरसफाइ,वातावरण संरक्षण,आर्थिक सहयोग, खानेपानी तथा अन्य सामाजिक सेवाका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । प्रतिवेदनअनुसार विभिन्न स्थानमा आयोजना गरिएका रक्तदान शिविरबाट एक वर्षमा १ हजार ३ सय ९२ युनिट रगत संकलन गरिएको छ । सडकपुर बौनियामा आयोजना गरिएको रक्तदान शिविरबाट मात्रै ९२ युनिट रगत संकलन गरिएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, ‘प्रोजेक्ट अमृतः स्वच्छ जल, स्वच्छ मन’ अभियानअन्तर्गत विभिन्न स्थानका धारा, पँधेरा, इनार, कुवा, नदी, ताल तथा पोखरीको सरसफाइ र संरक्षणका कार्यक्रम सञ्चालन गरिएको मण्डलले जनाएको छ ।
वार्षिक प्रतिवेदनअनुसार टीकापुर क्षेत्रमा चालु आर्थिक वर्षमा १४ जना नयाँ सेवादल अधिकारी नियुक्त गरिएको छ । पुनर्वास, दाङ, अत्तरिया, सडकपुर बौनिया र धनगढीका विभिन्न युनिटमा सञ्चालक, शिक्षक, सञ्चालिका तथा शिक्षिकाका रूपमा जिम्मेवारी दिइएको उल्लेख गरिएको छ । सभामा प्रस्तुत आर्थिक विवरणअनुसार आगामी आर्थिक वर्षका लागि संस्थाले २ करोड ७५ लाख २० हजार रुपैयाँ अनुमानित आय हुने प्रक्षेपण गरेको छ । विभिन्न कार्यक्रम, भवन निर्माण तथा मर्मत, प्रचारप्रसार, सेवादल, रक्तदान,महिला समागम,सवारी साधन तथा उपकरणलगायतका शीर्षकमा करिब ३ करोड ६२ लाख रुपैयाँ अनुमानित व्यय प्रस्ताव गरिएको छ ।