टीकापुर, १० साउन/टीकापुर स्थित कैलाशेश्वर शिबमन्दिरमा शनिबार ९साउन १२ गते० लघुरुद्राभिषेक हुने भएको छ । ब्राह्मण समाज नेपाल टीकापुर नगरसमितिको आयोजनामा हुन लागेको उक्त अनुष्ठान बिहान ७ बजेदेखि शुरु हुने छ । करिब १५ जना ब्राहमणले रुद्री पाठ गरी कार्यक्रम शुभारम्भ गरिने आयोजकले जनाएको छ ।
गाइको दूध ,दही , घिउ ,मह र मिश्रीले भगवान शिबको रुद्राभिषेक हुने समाजका केन्द्रिय सदस्य नारायण तिमिलसेनाले बताउनुभयो । दिउँसो हवन र पूर्णाहुति सहित यज्ञको समापन हुने छ । कार्यक्रममा प्रशाद वितरण पनि गरिने भएको छ ।
कार्यक्रम सफल बनाउन समाजसेवी मुक्तिानाथ रेग्मीको सभापतित्वमा आर्थिक संकलन समिति गठन भएको छ । सदस्यहरु मा समाजसेवीहरु धनराज उपाध्याय, तारा अधिकारी, योजना अधिकारी र सुनिता अधिकारी रहनुभएको छ । यसै गरी भोजन प्रशाद व्यबस्थापन समितिको संयोजकमा इश्वरी ज्ञवाली रहनु भएको छ ।
पवित्र श्रावन मासको उपलक्ष्यमा राष्ट्रमा सुख, शान्ति र सबैको अभ्युदयको संकल्पका लागि ब्राहम्ण समाज कैलालीले साउनमा ५ वटा पालिकामा रुद्राभिषेक कार्यक्रम गर्ने निर्णय गरेको थियो ।
पछिल्लो समय समाजले धार्मिक कार्यक्रम गर्दै आएको छ भने बिभिन्न मठ मन्दिरको संरक्षण गर्नुको साथै समाजमा अनुसाषन र मर्यादा राख्ने कार्यक्रम गर्दै जनचेतना फैलाउँदै आएको छ ।