पाइप काटिदा पानी वितरणमा समस्या, २५९ किलोमिटर पाइप विस्तार

टीकापुर,१८ मंसिर/टीकापुरस्थित साना सहरी खाने पानी उपभोक्ता संस्थाद्वारा वितरण गरिने पानी अनियमित हुँदा उपभोक्ता समस्यामा पर्ने गरेका छन् । खानेपानीको पाइप काटिदा पानी अबरुद्ध हुने गरेको छ । खानेपानीको भरमा भएका उपभोक्ता पानी नआउँदा समस्यामा पर्ने गरेका हुन् । दिनहुँ जसो पाइप काटिन थालेपछि पानी वितरण अनियमित हुने गरेको छ ।
नाली र सडक निर्माणका कारण खानेपानीको पाइप काटिने गरेका छन् । बजार क्षेत्रभित्र बन्दै गरेका नालीहरुकै कारण दिनहुँ पाइप काटिने गरेका छन् । पानी २४ सै घण्टा आउँछ भनेर कतिपय उपभोक्ताले ट्याङ्कीको व्यबस्था गरेका छैनन् । धेरै उपभोक्ताले नल्काको पानी प्रयोग गर्न छाडेका छन् ।


यसरी नल्काको प्रयोग गर्न छाड्नु र ट्याङ्कीको व्यबस्था नगरेका उपभोक्ता पानी अनियमित भएपछि खानेपानी संस्थाप्रति आक्रोशित हुने गरेका छन् । ‘‘खानेपानी अनियमित हुँदा उपभोक्तालाई मर्का पर्छ भन्ने बारेमा खानेपानी संस्थाले ध्यान दिनुपर्छ’’, माहन्त साउँदले भन्नुभयो, ‘‘ पाइप काटिदा अनियमित र फोहर पानी आउने गरेको छ ।’’ उहाँले स्वच्छ खाने पानी नियमित वितरण गर्ने बारेमा संस्था जिम्मेवार हुनुपर्छ भन्नुभयो ।
पानी नियमित भएको र पाइप काटिदा दुई छाक पानी अवरुद्ध हुने गरेको खानेपानी संस्थाले जनाएको छ । ‘‘दिनहुँ जसो पाइप काटिन्छ, पाइप काटिएपछि काटिएको क्षेत्रमा दुई छाक पानी अबरुद्ध हुन्छ,’’ खानेपानी संस्थाका प्रमुख चन्द्र प्रकाश सोडारीले भन्नुभयो, ‘‘पाइप काटिदा उपभोक्तालाई समस्या त पर्छ नै संस्थालाई आर्थिक नोक्सान पनि हुने गरेको छ ।’’
पाइप नकाटियोस भन्ने बारेमा आफुहरु सचेत भएको भन्दै सोडारीले पाइप जथाभावी गाडेकै कारण निर्माणका काम गर्दा पाइप काटिने गरेको बताउनुभयो । कार्यालय प्रमुख सोडारीकाअनुसार अघिल्ला आर्थिक वर्षमा एक सय ४४ ठाउँमा पाइप काटिएको थियो । ‘‘पाइप काटिएको रकम वापत १४ लाख रुपैया क्षतीपूर्ती असुल्न बाँकी रहेको छ,’’ सोडारीले भन्नुभयो,‘‘९० सेण्टिमिटर गाड्नु पर्ने पाइप ४८ सेण्टिमिटर त कहि त्यो भन्दा कम गाडिएको पाइयो ।’’
संस्थालाई कसरी दीगोपनमा लैजान सकिन्छ भन्ने योजना बनाएर अघि बढिरहेको सोडारीले बताउनुभयो । ‘‘संस्थाको अधिकतम हितका लागि कतिपय अवस्थामा अप्रिय निर्णय पनि लिन जरुरी छ,’’ सोडारीले भन्नुभयो,‘‘खानेपानीको महशुलमा अनावश्यक टिकाटिप्पणी गरेको पाउँछु राम्रो लाग्दैन ।’’
९० सेण्टिमिटरमा पाइप गाड्नुपर्ने मापदण्ड भए पनि निर्माण कम्पनीले अधिकांस ठाउँमा मापदण्ड अनुसार काम नगरेकै कारण पाइप काटिन थालेको हो ।‘‘ निर्माण कम्पनीले पाइप गाडदा मापदण्ड अनुसार काम नगर्नु भनेको भ्रष्टाचार हो,’’ खानेपानी संस्थाका सदस्य खड्गबहादुर धामीले भन्नुभयो, ‘‘खाल्डो खन्ने पैसा निर्माण कम्पनीले बचाएको प्रष्ट हुन्छ । अर्काेतर्फ पाइप जथाभावी गाडेको रहेछ ।’’ निर्माण कम्पनीले काम गर्दा धेरै अनियमितता गरेको देखिन्छ भन्दै धामीले बिग्रेको काम सुधार्न मै हामी लागेका छौ भन्नुभयो ।
अहिलेसम्म २ सय ५९ किलोमिटर पाइप बिछ्याइएको छ । लागत अनुमानमा एक सय ९६ किलोमिटर पाइप जोड्ने योजना भए पनि ६२ किलोमिटर थप पाइप बिस्तार गरिएको छ । ८ हजार ४ सय १३ धारा जडान गर्ने लक्ष्य अनुसार संस्थाले सात हजार ६ सय धारा जडान गरेको छ । सन् २०३८ सम्ममा यो योजनाबाट २० हजार घरधुरीलाई पानी वितरण गर्न सकिने छ ।
संस्थाले वार्षिक एक करोड २१ लाख रुपैया सावाँ व्याज गरेर ऋण तिर्दै आएको छ । पुष र असार मसान्त गरी वर्षको दुई पटक किस्ता बुझाउनुपर्छ । संस्थाले १४ करोड २६ लाख रुपैया ऋण भुक्तानी गर्न बाँकी छ । अहिलेको आम्दानीले सञ्चालन खर्च पुगेको भएपनि भविष्यमा आइपर्ने समस्या थेग्न सक्ने अवस्था नभएको संस्थाका अध्यक्ष नरेश कुमार खत्रीले बताउँनुभयो ।
‘‘पम्प, क्यानल, भल्व, र मेसिन पुराना हुँदै जाने त्यसका लागि मर्मत खर्च आवश्यक पर्छ भने कतिपय सामान अर्काे बदल्नुपर्छ त्यसका लागि पनि थप रकम आवश्यक पर्छ,,’’ अध्यक्ष खत्रीले भन्नुभयो, ‘‘शुल्कका बारेमा अनर्गल प्रचार हुन्छ, खर्च धान्ने भनेकै शुल्कबाट हो, अरु आयस्रोत केही हुँदैन ।’’ उहाँले संस्थाको दीगोपनका बारेमा उपभोक्ता पनि सचेत हुनुपर्छ भन्नुभयो । खत्रीले निर्माण्का क्रममा पाइप धेरै टुटफुट भइरहेका छन् जुन चिन्ताको बिषय हो भन्नुभयो ।
खानेपानी विभागले अटोमेटिक भल्ब सिस्टमका लागि उपकरण अनुदान दिने भएको छ । उपकरण खरिदका लागि टेण्डर समेत भइसकेको छ । टीकापुरका ४ वटै ट्याङकीमा फिल्टर जडान गरिएको छ । फिल्टरले छानेर पानी वितरण गर्दा पनि कतिपय अवस्थामा उपभोक्ताले लेदो पानी आयो भनेर गुनासो गर्ने गरेका छन् त्यसको कारण एउटै पाइप काटिनु । यसरी पाइप काटिनबाट जोगाउनलाई खाने पानी संस्थाले प्रत्येक ब्लक मै उपसमिति गठन गरेर चेतना जगाउने काम गर्न थालेको छ । ५३ करोड रुपैया लागतमा निर्माण भएको खाने पानी योजनालाई स्तरउन्नतीका लागि भनेर थप ३ करोड रुपैया बजेट उपलव्ध गराइएको थियो ।