सम्पादकीय
टीकापुरको समाज द्वन्द्वमा रमाउन थालेको छ । टीकापुर अस्पतालमा दुईजना कर्मचारीको आपसमा झगडा हुन्छ । त्यही झगडाको भिडियो भाइरल हुन्छ । अघिल्लो दिनको झगडा पछिल्लो दिन छताछुल्ल हुन्छ। यसरी एउटा संस्थामा काम गर्नेहरु बीच आपसमा झगडा हुन्छ तर सामाजिक सञ्जालमा यसरी प्रचार गरिएको छ की यही झगडाका कारण अस्पतालको सेवा चुस्त दुरुस्त हुन सकेन । दुइजनाको कुन बिषयमा झगडा भयो त्यो उनीहरु जानुन् भिडियोमा देखिएको हातपातलाई कदापी राम्रो भन्न सकिदैन । हातपात गर्नु अपराध हो । तर एकै संस्थामा काम गर्ने कर्मचारी दाई भाई पनि हुन् नी आबेगमा आएर भएको झगडालाई यति ठूलो बनाइयो की मानौ टीकापुर यही कारणले सकियो जस्तो । यसरी उछाल्दा उनीहरु आपसमा बसेर मिल्ने वातावरण छैन । आवेगमा भएका घटनालाई अस्पताल व्यबस्थापन समिातिले समयै मिलाएको भएपनि हुने हो । अस्पताल प्रशासनको पनि जिम्मेवारी हो की आफ्ना कर्मचारी अस्पतालमै झगडा गर्छन् भने सत्य तथ्य पत्ता लगाएर घटना सामसुम पार्नु । यतिखेर सामाजिक सञ्जालमा अस्पतालका बारेमा चिन्ता गरेको देखियो त्यसको २५ प्रतिशत मात्र चिन्ता अस्पतालको सेवाका बारेमा गरेको भए अस्पतालमा धेरै सुधार हुने थियो । अस्पतालको ल्याव रिपोर्ट भरपर्दाे छैन भनेर गुनासो आउन थालेको बर्षाै भयो तर टीकापुरका जनताले आवाज उठाएनन् । सामाजिक अगुवा हौं भन्नेहरुले अस्पतालमा भएका समस्यालाई बुझ्ने प्रयास गर्दैनन् । बाहिर सुनेका भरमा आफ्नो दृष्टिकोण बनाउने र सामाजिक सञ्जालमा लेख्ने प्रचलन बढ्दै जाँदा टीकापुरको बदनाम हुने गरेको छ । समाजमा सानातीना घटना जुन सहरमा पनि हुन्छन् । ठूलै अपराध भएको भए त्यही खालको कारबाहीका लागि सबै लाग्नुपर्छ । सामान्य छ भने त्यही अनुसार भविष्यमा नदोहयाउने गरी मिलाउन जरुरी हुन्छ । घटनाको प्रकृतिलाई आफु अनुकुल व्याख्या गर्ने चलनले गलत मान्छेलाई प्रसय मिलिरहेको छ । अस्पतालमा भएका खरिद पकृया हुन् या कर्मचारी भर्नाका सवालमा होस् या चिकित्सक र स्वास्थ्यकर्मीले लिने इन्सेटिभका बारेमा होस् मनपरी छ । अस्पतालमा बिरामीको चाप धेरै छ ,यस्तो अवस्थामा बिरामीलाई कसरी राहत दिन सकिन्छ भन्ने सवालमा सकारात्मक पहल गर्नु सबैको कर्तव्य हो । टीकापुर बस्ने वातारण बनाउने भनेकै अस्पताल मुख्य हो । अहिलेको युगमा अस्पतालको ल्यावमा उच्च तहका प्राबिधिक नहुनु भनेको दुर्भाग्य हो । अस्पतालमा गएपछि जनताको बिजोग देख्न पाइन्छ । अस्पताल व्यबस्थापन समितिको थाप्लोमा जिम्मा फाल्ने अनी अस्पतालको बृद्धि विकासमा ध्यान नदिने कथित समाजसेवी सामाजिक सञ्जालमा लेखेर आफुलाई अव्वल सावित गर्न उद्यत छन् । तसर्थ टीकापुरबासी गम्भिर भएर लाग्नुर्छ । हुलका भरमा आफ्ना बिचार राख्दै जाँदा टीकापुर ध्वस्त हुने बिश्चित हो । टीकापुरलाई सुन्दर सहर बनाउन हामी नै सकारात्मक भएर लाग्नु पर्छ । बाहिरबाट आएर कसैले हाम्रो ठाउँ बनाइदिने होइन ।