टीकापुर, ८ भदौं/ २०७२ साल भदौ ७ गते टीकापुरमा भएको र्हिसात्मक घटना, अर्कोदिन भए को आगजनी र त्यस यताका मुद्दा का श्रृखलाबाट पाठ सिक्दै टीकापुरको समृद्धि आवश्यक रहेको जनप्रतिनिधिहरुले बताएका छन् ।
थारु कल्याणकारीणी सभा क्षेत्र नम्बर १ कैलालीको आयोजनामा टीकापुरमा भएको एघारौं टीकापुर बिद्रोह दिवस कार्यक्रममा बोल्दै यस्तो मत तयार गरेका हुन् । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री खुशीराम डगौरा थारुले टीकापुर घटनाको स्मरण गर्दै निर्दोष सुरक्षाकर्मीको सहादत र संविधानमा पहिचानको अधिकार माग्ने निहत्था थारू समुदायले मुद्दा खेप्नु परेको दुवै अवस्था गलत भएको बताउनुभयो । उहाँले धेरै अधिकार प्राप्त भएको केही पाउन बाँकी रहेकाले आवाज बुलन्द गर्न नछाड्ने र सङ्घीयता को संरक्षण र जनपक्षीय कानुन बनाउने प्रतिवद्धता जनाउनुभयो ।

पूर्वमन्त्री तथा सुदूरपश्चिम प्रदेश सभाका सदस्य लक्ष्मण किशोर चौधरीले टीकापुर घटना का कारण पछि परेको टीकापुरले क्षतिपूर्ति पाउनुपर्ने बताउनुभयो ।
‘निर्वाचत प्रतिनिधि रेशमलाल चौधरी जेल परेर टीकापुर क्षेत्र पाँच वर्ष पछि परयो, त्यसपछि उहाँको श्रीमतीलाई जिताएर छुटाउदा समय गयो’ प्रदेश सभा सदस्य चौधरीले भन्नुभयो, ‘हामी प्रदेश सरकारमा आएका छौं यस पटक टीकापुरका लागि प्रदेशले प्रयाप्त बजेट दिनुपर्छ ।’ थारु बहुल क्षेत्रमा प्रयाप्त बजेट नदिए सुदूरपश्चिम प्रदेशमा बनेको लाल सरकार ढालिदिने चौधरीले चेतावनी दिनुभयो ।
संविधान सभा सदस्य कृष्ण कुमार चौधरीले थारू आन्दोलन को बलमा केही प्रतिनिधि जिताएको भनेर रशेमलाल चौधरीले नाटक गर्न नहुने बताउनु भयो ।
जानकी गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रदिपकुमार चौधरीले संविधानमा पहिचान सहितको सघियता माग्दै आन्दोलन भैरहेको बेला टीकापुरमा दस वर्षे द्वन्द्वमा पनि नभोगेको अकल्पनीय घटना भएको र थारूहरूमाथि दोष थोपरिएको बताउनुभयो । उहाँले भन्नुभयो ‘यही आन्दोलन को रापतापले रेशमलालले २०७४ मा चुनाव जितेको, रेशम जेल परेपछि छुटाउन भन्दै उहाँका श्रीमतीलाई चुनाव जिताए पनि पार्टी र चुनाव चिन्ह नै हराएको बताउनुभयो ।’थरुहट आन्दोलनका अगुवा माधव थारुले राज्यले थारुमाथि गरेको दमनको आक्रोश व्यक्त भएको टीकापुर घटनाको दिन जितको दिनको रूपमा मनाउनु पर्ने तर रेशमलाल चौधरीले आफ्नै बपौती र निजी मामिला ठान्न नहुने बताउनुभयो ।
थारु पहिचान सहितको संघीयता हुनुपर्ने, पूर्ण समावेशी व्यवस्था हुनुपर्ने र टीकापुर घटनाको अध्ययन गर्न पूर्व न्यायधिश गिरीशचन्द्र लालको संयोजकत्व मा गठित आयोगको प्रतिवेदन बर्तमान सरकारले सार्वजनिक हुनुपर्ने माग गरेका छन् ।
कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका सदस्य कोमल ज्ञवालीले इतिहासबाट पाठ सिकेर भविष्यको तयारी गर्नुपर्ने बताउनु भयो । ‘ थारु समुदायले न्याय र अधिकार पाउनुपर्छ लाल आयोग को प्रतिवेदन सार्वजनिक हुनुपर्छ भन्ने माग लिएर सडक सङ्घर्षमा लागेकी थिए’ सदस्य ज्ञवालीले भन्नुभयो, ‘ सरकारले अध्ययन गरिरहेको छ प्रतिवेदन सार्वजनिक हुन्छ इतिहासले दिएको पीडालाई प्रतिशोध र राजनीतिक सौदावाजी का रुपमा नभई लोकतान्त्रिक अभ्यासका रुपमा माग पूरा हुनुपर्छ ।’

टीकापुर घटनामा मारिएका बालक टेकबहादुर साउदको शालिकमा माल्यांपण गर्नुभएको चौधरीले टीकापुर घटनामा बाह्य तत्वले खेलेर आफूलाई फसाएको तर आफू टीकापुरकै विकासमा लाग्ने बताउनुभयो ।
थारु कल्याणकारिणी सभा क्षेत्र नम्बर १ कैलालीका सभापति लौटन चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा जानकी गाउँपालिकाका पूर्व उपाध्यक्ष उमा महत्तो, थारु कल्याणकारिणी सभा कैलालीका उपसभापति चुन्नीराम चौधरी, रामकृष्ण चौधरी, सीता चौधरी लगायतले बोल्नु भएको थियो ।
के हो टीकापुर घटना
संविधान जारी हुने दिन नजिकिदै जाँदा थारु बहुल क्षेत्रको छुट्टै प्रदेश हुनुपर्ने माग राखी आन्दालन शुरु भएको थियो । टीकापुरमा भएको आन्दोलनमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपाने,प्रहरी निरीक्षकहरु बलराम विष्ट, केशव बोहरा, प्रहरी हवल्दार लक्ष्मण खडका, जनक नेगी, प्रहरी जवान लोकेन्द्र चन्द, सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार ललित साउद, जवान रामविहारी चौधरी र नावालक टेकबहादुर साउदको ज्यान गएको थियो । घटनापछि आन्दोलनका अगुवा रेशमलाल चौधरी फरार हुनु भएको थियो । हिंसात्मक घटना भएको अर्को दिन टीकापुरमा एक जत्थाले थारु व्यवसायीका पसल र घरमा आगजनी गरेको थियो । फरार अवस्थामै २०७४ मंङसिरमा भएको प्रतिनिधि सभाको निर्वाचनमा राजपाबाट निर्वाचित हुनु भएको थियो ।
२०७५ सालमा अदालत समक्ष आत्मसपर्णण गर्नु भएका चौधरी टीकापुर घटनाको मुख्य दोषि प्रमाणित भइ सजाय पाउनु भएको थियो ।
जेलभित्रै रहेको बेला २०७८ सालमा नागरिक उन्मुक्ति पार्टी खोलेको चौधरीको दलले २०७९ को स्थानीय तहमा चारवटा पालिका प्रमुख, प्रदेश सभामा सात जना र प्रतिनिधि सभाको निर्वाचन मा कैलाली १ बाट चौधरी पत्नी रञ्जिता श्रेष्ठ, बर्दिया १ बाट बुबा लालबीर चौधरी, कैलाली २ बाट अरुण कुमार चौधरी, कैलाली ३ बाट गंगाराम चौधरी निर्वाचित हुनुभएको थियो । श्रमितीसँग विवाद परेपछि हाल नागरिक उन्मिुक्ति पार्टी नेपाल गठन गर्नुभएको छ भने पुरानो पार्टी नेकपामा बिलय भैसकेको छ । रेशमलालले नागरिक उन्मुक्ति पार्टी नेपाल गठन गर्नुभएको छ ।